​गान्तोक जिल्लामा मतदाता गणना फारम वितरण तीव्र, कठिन भूगोलका बाबजुद हालसम्म ८८.८७ प्रतिशत लक्ष्य हासिल

f785a96a-010a-41cf-939b-662ec7108f12

गान्तोक: सिक्किम राज्यमा मतदाता सूचीलाई चोखो र सफा बनाउने उद्देश्यका साथ निर्वाचन आयोगको निर्देशानुसार चलिरहेको ‘विशेष सघन परिमार्जन अभियान २०२६’ (SIR) अन्तर्गत गान्तोक जिल्लामा पनि बीएलओहरू घर-घर पुगेर फारम बाँड्ने काममा व्यस्त छन्। अभियानको १७औँ दिन अर्थात् आजसम्म आइपुग्दा गान्तोक जिल्लाभरि ८८.८७ प्रतिशत मतदाता गणना फारम (Enumeration Forms) वितरण गरिसकिएको जिल्ला सूचना एवं जनसम्पर्क विभाग (IPR) ले जनाएको छ। जिल्लाका कूल १ लाख २२ हजार २ सय ४० मतदाताहरूमध्ये हालसम्म १ लाख ८ हजार ६ सय ३४ जनाको घरमा यो फारम पुर्‍याइइसकेको छ।
​जिल्ला निर्वाचन कार्यालयका अनुसार विभिन्न निर्वाचन क्षेत्रहरूमा फारम वितरणको आँकडा हेर्दा मार्ताम-रुम्तेक क्षेत्रमा सबैभन्दा बढी १७ हजार ३६ वटा फारम बाँडिएको छ। यसै गरी तुमेन-लिङ्गीमा १६ हजार ४ सय ८७, खामदोङ-सिङ्ताममा १२ हजार ३ सय ९६, स्यरिमा १३ हजार ९ सय ८४, माथिल्लो तादोङमा १० हजार ३ सय ८५, अरिथाङमा ९ हजार ३ सय ६६, गान्तोकमा ११ हजार ७ सय ७६, माथिल्लो बुर्तुकमा १३ हजार ३ सय ४८ र सङ्घ निर्वाचन क्षेत्रमा ३ हजार ८ सय ५६ वटा फारमहरू वितरण भइसकेका छन्।
​पहाडी क्षेत्रको कठीन भूगोल र मौसमको चुनौतीलाई झेल्दै बुथ लेभल अधिकारीहरूको टोली कुनै पनि योग्य मतदाता नछुटून् भनी निरन्तर कुदिरहेका छन्। यस पटकको अभियानमा शारीरिक रूपमा अशक्त र ज्येष्ठ नागरिकहरूको घरमै पुगेर फारम भर्न विशेष जोड दिइँदैछ। बीएलओहरूको यो घरदैलो कार्यक्रम आगामी २८ जुन २०२६ सम्म जारी रहनेछ। जिल्ला निर्वाचन कार्यालयले यो राष्ट्रिय कार्यलाई सफल र पारदर्शी बनाउनका लागि सम्पूर्ण आम नागरिक र राजनीतिक दलहरूलाई बीएलओहरूलाई पूर्ण सहयोग गर्न अपिल गरेको छ।

About Author

Advertisement