गेजिङ। सिक्किम गरीब आवास योजना अन्तर्गत मोठ २० जना लाभार्थीलाई एलटमेन्ट अर्डर वितरण गरियो। गेजिङ नगर पञ्चायतले आयोजना गरेको एक कार्यक्रमबीच क्षेत्र विधायक तथा मन्त्री लोकनाथ शर्माको बाहुलीद्वारा आज लाभार्थीहरूलाई एलटमेन्ट अर्डर वितरण गरिएको थियो।
मन्त्री शर्माले लाभार्थीहरूलाई एलटमेन्ट अर्डर वितरण गर्दै शहरी आवास योजनाका प्रथम लाभार्थी बनेकोमा सबैलाई बधाई पनि दिए। उनले सम्बन्धित सबैलाई निर्माण कार्यमा सम्झौता नगर्न र निर्धारित समयमा कार्य पूरा गर्न आह्वान गरे। उनले नगर पञ्चायत अन्तर्गत सबै वार्डका लाभार्थीहरूलाई गुणात्मक निर्माण कार्य सुनिश्चित गर्न ठेकादारलाई सहयोग गर्न सुझाउ दिए।
मन्त्री शर्माले निकट भविष्यमा अतिरिक्त आठ भूमिहीन लाभार्थीलाई पनि आवास प्रदान गरिने बताए। आफ्नो सम्बोधनको क्रममा उनले नगर पञ्चायत क्षेत्रमा जारी विकास कार्यहरूमाथि प्रकाश पार्दै आगामी एक महिनाभित्र लम्बित मागको रूपमा रहेको जलापूर्तिको योजना शुरू गर्ने आश्वासन दिए। वर्तमान सरकारले यसका लागि कार्य अनुमोदन गरिसकेको उनले जानकारी गराए।
उनले गेजिङ जिल्ला अस्पतालमा ५० पलङको क्रिटिकल केयर युनिट स्थापना गरिने बताए। यस अतिरिक्त उनले शपिङ मलको निर्माण, ढल निकासको मरम्मति आदि कार्यहरूबारे पनि जानकारी दिएका थिए।











