सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करण असोज दोस्रो सातादेखि गान्तोकमा हुने

Screenshot_20260929_231752_Facebook

​गान्तोक: सिक्किम कला तथा साहित्य महोत्सव (एसएएलएफ) २०२६ को दोस्रो संस्करण आगामी कात्तिक ११ देखि १३ गते (२८ देखि ३० अक्टोबर) सम्म गान्तोकस्थित रिज पार्कमा आयोजना हुने भएको छ। महोत्सवको आयोजक टोलीले मङ्गलबार गान्तोकमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको औपचारिक घोषणा गरेको हो।

​पत्रकार सम्मेलनमा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्पा, सोरेङ च्याखुङका विधायक आदित्य गोले, विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेल शेर्पा, संस्कृति विभागकी अध्यक्ष भीमकुमारी शर्मा र टिमवर्क आर्ट्सका वरिष्ठ उपाध्यक्ष सैयद शम्स जावेदले महोत्सवबारे विस्तृत जानकारी दिएका हुन्।
​मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा सुरु भएको यो महोत्सव विद्यार्थी कल्याण बोर्ड र राज्य शिक्षा विभागको संयुक्त आयोजना तथा टिमवर्क आर्ट्सको सहकार्यमा हुन लागेको हो। तीन दिनसम्म चल्ने महोत्सवमा साहित्यिक संवाद, कविता वाचन, सांस्कृतिक प्रस्तुति, कार्यशाला र साहित्यिक आदान-प्रदान जस्ता विविध कार्यक्रमहरू समावेश गरिएका छन्।
​यस पटकको महोत्सवमा साहित्यकार छुदेन काबिमो, मामाङ दाई, कवि नवराज पराजुली, रञ्जित होस्कोटे, विलियम ड्यालरिम्पल, युवान एभ्स, गुरु टी. लद्दाखी र स्टिफन अल्टर लगायतका चर्चित लेखक, चिन्तक तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहनेछ। महोत्सवमा कवि नवराज पराजुलीको चर्चित ‘कविता कन्सर्ट: बिट्स अफ पोएट्री’ विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।
​यस्तै, ‘इकोज अफ भर्स’, ‘दिज हिल्स कल्ड होम’ र ‘ए बोर्डरल्यान्ड स्टेट अफ माइन्ड’ जस्ता सत्रहरूमा हिमालयन क्षेत्रको पहिचान, स्मृति, सीमावर्ती जीवन र समकालीन संस्कृतिबारे गहन छलफल हुनेछ। युवा तथा बालबालिकाहरूका लागि विशेष कार्यशाला समेत आयोजना गरिने यो महोत्सव सबैका लागि निःशुल्क र खुला रहनेछ।

About Author

Advertisement