कोलकाता: पश्चिम बंगाल सरकारले प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ हालसम्म यस्तो सुविधा नपुगेका उप-डिभिजनहरूमा नयाँ पोलिटेक्निक संस्थान स्थापना गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको प्रदेश सरकारले उत्तर बंगाल क्षेत्रका दार्जिलिङ, धुपगुडी, दिनहाटा र मेखलीगञ्ज लगायतका स्थानहरूमा यी संस्थानहरू स्थापना गर्न लागेको हो।
दशकौंदेखि ती क्षेत्रका विद्यार्थीहरू प्राविधिक तथा सीपमूलक शिक्षा हासिल गर्नका लागि टाढा-टाढासम्म यात्रा गर्न बाध्य थिए। लामो यात्रा तथा आर्थिक एवम् व्यवस्थापकीय चुनौतीका कारण धेरै परिवारका बालबालिकाहरू उच्च तथा प्राविधिक शिक्षाबाट बञ्चित हुनुपरेको अवस्थालाई ध्यानमा राख्दै सरकारले यो कदम चालेको हो। नयाँ पोलिटेक्निक संस्थानहरूको स्थापनाले गुणस्तरीय प्राविधिक शिक्षालाई विद्यार्थीहरूको पहुँचमा पुर्याउने र सीप विकास, रोजगारी तथा उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।
यसका साथै उत्तर बंगालका विभिन्न भागमा राष्ट्रिय महत्त्वका संस्थानहरू र उच्च प्राविधिक शिक्षा केन्द्रहरू स्थापना गर्ने प्रक्रियालाई समेत थप अगाडि बढाइएको छ।
विगतमा सीपीआईएम र तृणमूल कंग्रेस को शासनकालमा प्रदेशको शिक्षा क्षेत्रले पूर्वाधारको कमी, शिक्षक तथा कर्मचारी भर्ना प्रक्रियामा ढिलाइ र विद्यार्थीहरूका लागि पर्याप्त अवसरको अभाव जस्ता गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको थियो। वर्तमान सरकारले गुणस्तर, पहुँच, पारदर्शिता र परिणाममा जोड दिँदै शिक्षा प्रणालीको पुनःसंरचना र सुदृढीकरण गरिरहेको तथा प्राविधिक एवम् उच्च शिक्षा संस्थानहरूको विस्तार यसै अभियानको एक प्रमुख हिस्सा भएको जनाइएको छ।
यस क्षेत्र र समग्र राज्यका युवाहरूको शैक्षिक आवश्यकतालाई सम्बोधन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री शुभेन्दु अधिकारीप्रति हार्दिक आभार व्यक्त गरिएको छ।





