गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको मङ्गन जिल्ला कार्यकारिणी परिषद्को बैठक मङ्गलबार पार्टी अध्यक्ष गणेश के. राईको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने र मङ्गन जिल्लाका समसामयिक समस्याबारे छलफल गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राईले उत्तर सिक्किमलगायत क्षेत्रमा सडकको दयनीय अवस्थाका कारण सर्वसाधारण र विशेष गरी विद्यार्थीहरूले सास्ती भोग्नुपरेको बताए। साथै, उत्तर सिक्किमका पहिरो प्रभावित तथा प्राकृतिक जोखिमयुक्त क्षेत्रहरूमा सडक पूर्वाधार, विपद् व्यवस्थापन र स्थानीय समुदायको सुरक्षामा तत्काल ध्यान दिनुपर्नेमा उनले जोड दिए।
पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूलाई जनतासँग निरन्तर सम्पर्कमा रही स्थानीय समस्याहरूलाई व्यवस्थित रूपमा सम्बन्धित निकायसमक्ष उठाउन अध्यक्ष राईले निर्देशन दिए।
कार्यक्रममा मङ्गन जिल्ला ट्राइबल काउन्सिलका अध्यक्ष डीआर लिम्बूले टिस्टा बेसिन र टिस्टा-III परियोजनासँग सम्बन्धित विषयहरू उठाउँदै पार्टीका पाँच प्रमुख उद्देश्यबारे स्पष्ट पारेका थिए। त्यसैगरी, उपाध्यक्ष एवं मङ्गन जिल्ला अध्यक्ष जोर्बु छेङ लेप्चाले संगठनलाई तल्लो तहसम्म पुर्याउन नियमित मासिक बैठक सञ्चालन गर्ने र पूर्णकालीन कार्यकर्ता निर्माणमा जोड दिइने बताए।





