गान्तोक: सिक्किम फुटसल संघ (एफएएस) को आयोजनामा राज्यकै इतिहासमा पहिलो पटक ‘प्रथम सिक्किम फुटसल लिग २०२६’ सुरु भएको छ। सिक्किममा फुटसल खेलको विकास र विस्तार गर्ने उद्देश्यका साथ आयोजित यस ऐतिहासिक लिगमा १० वटा प्रतिस्पर्धी टोलीहरूले सहभागिता जनाएका छन्। जीएमसी फुटसल एरेनामा हुने यस प्रतियोगिताअन्तर्गत कुल ४५ वटा लिग खेलहरू खेलाइने संघले जनाएको छ।
आइतबार भएका खेलहरूमा दुई रोमाञ्चक भिडन्तहरू सम्पन्न भए। पहिलो खेल फेरु एफसी र अल्टिमेट एफसीबीच भएको थियो भने दोस्रो खेलमा एएसडिईए र राइजर्स एफसीबीच प्रतिस्पर्धा भएको थियो।

अनुशासित भएर खेल्न आग्रह
कार्यक्रमका मुख्य अतिथि एवं मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्चुक लेप्चाले युवाहरूलाई खेलकुदमा आकर्षित गर्न र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न फुटसल संघले गरेको यस प्रयासको सराहना गरे। उनले खेलाडीहरूलाई खेल भावना र अनुशासनका साथ प्रतिस्पर्धा गर्न आग्रहसमेत गरे।
त्यस्तै, विशिष्ट अतिथि सिक्किम फुटबल संघका उपाध्यक्ष डा. सोनाम एथेन्पाले फुटबलको प्राविधिक सीप विकासका लागि फुटसलको महत्त्व बढ्दै गएको उल्लेख गर्दै यस लिगले सिक्किमको जगैदेखिको फुटबल (ग्रासरुट फुटबल) लाई बलियो बनाउने विश्वास व्यक्त गरे।

खेलाडीहरूलाई आपत्कालीन उपचार तालिम
खेलका क्रममा खेलाडीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्राथमिक उपचारसम्बन्धी महत्त्वपूर्ण सेसन पनि सञ्चालन गरिएको थियो। बेसिक लाइफ सपोर्ट र सीपीआर तालिमका स्रोत व्यक्ति डा. पाल्देन वाङ्चुक भोटियाले खेल मैदान भित्र र बाहिर हुन सक्ने स्वास्थ्य संकटका बेला जीवन रक्षा गर्ने सीपको महत्त्वबारे खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई जानकारी गराएका थिए।









