सिलगढी: वैकुण्ठपुर वन विभागले सिलगढीमा वृक्षारोपण तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ भव्य रूपमा ‘अरण्य सप्ताह’ मनाएको छ। स्थानीय दीनबन्धु मञ्चमा आइतबार आयोजित मुख्य समारोहमा पश्चिम बङ्गालका पर्यटन मन्त्री शङ्कर घोष र राज्यमन्त्री आनन्दमय बर्मनको विशेष उपस्थिति थियो।
मुख्य कार्यक्रम सुरु हुनुअघि दुवै मन्त्रीले सिलगुढी ब्वाइज हाई स्कुलको प्राङ्गणमा वृक्षारोपण गरी हरित क्षेत्र बढाउन र पर्यावरण संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।
सप्ताहव्यापी उत्सवको एक भागका रूपमा वन विभागले ‘अरण्य सप्ताह’ का गतिविधिहरू समेटिएका तस्बिर तथा भिडियोहरूको विशेष प्रदर्शनी समेत आयोजना गरेको थियो। प्रदर्शनीमा वन संरक्षण, जैविक विविधता रक्षा र वातावरणीय सचेतनाका लागि विभागले चालेका कदमहरूबारे आगन्तुकहरूलाई जानकारी गराइएको थियो।

वन विभागका अधिकारी, विद्यालय तथा कलेजका विद्यार्थी र पर्यावरणप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न विधाका प्रतियोगिताका विजेताहरूलाई मन्त्रीद्वय घोष र बर्मनले पुरस्कृत गरेका थिए। सो अवसरमा वक्ताहरूले वन संरक्षण र वृक्षारोपण अभियानमा सर्वसाधारणको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।











