खरसाङ: वन्य जीवहरू र वन संरक्षणको उद्देश्यको साथमा खरसाङ डिभिजनल फरेस्ट विभागको आयोजनामा आरण्य सप्ताह अन्तर्गत विभिन्न सचेतना कार्यक्रम साथै वृक्ष रोपणको कार्य सम्पन्न गरिएको छ। उक्त कार्यक्रम खरसाङको डाउहिलस्थित वन विभागको म्युजियम क्षेत्रमा सम्पन्न भएको छ। प्रत्येक वर्ष १४ देखि २० जुलाईसम्म आरण्य सप्ताह पालन गर्ने गरिन्छ।

यसै अन्तर्गत वन विभाग खरसाङको आयोजनामा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको छ भने आईतवार खरसाङमा आरण्य सप्ताहलाई लिएर विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा अडिशनल चिफ् जुडिशियल मेजिस्ट्रेट तन्मय रोय उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, दार्जिलिङका डीएफओ समित पटेल, डीएफओ खरसाङ आईएफएस देवेश पाण्डे, डीएफओ सोयल अराङ्शु पाण्डा, पद्यमाजा नायडु जियोलोजिकल पार्कका अडिशनल डाईरेक्टर ग्याचुल यल्मो, भारतीय वन प्रबन्धन संस्था खरसाङका प्रभारी डा मनोज सिंह, भूमि अनि भूमि सुधार विभागबाट नमल रोंगोंग, डाउहिल स्कूलकी प्रधानाध्यापिका एस अली आदि उपस्थित रहेका थिए। कार्यक्रमलाई सबिना गिरीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण खरसाङका डीएफओ आईएफएस देवेश पाण्डेले राखेका थिए। उनले आफ्नो स्वागत सम्भाषणमा आरण्य सप्ताह पालन गर्नुको उद्देश्य र औचित्य साथै वन संरक्षण र वन्य जीवहरू संरक्षणको लागि काम गर्नु पर्ने बताउँदै यसको लागि स्थानीय मानिसहरु र सरकारले पनि सहयोग गर्नु पर्ने बताएका छन्। उनले वन विभागले अहिलेसम्म गरेको विभिन्न कार्यक्रमहरु र क्रियाकलाप विषयमा जानकारी गराउँदै वन विभागले तयार पारेको भिडियो पनि प्रदर्शन गरेर देखाएका थिए। कार्यक्रममा डाउहिल स्कूलका विद्यार्थीहरुले सामुहिक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरु नानीहरुलाई लिएर आरण्य सप्ताह, वन साथै अन्य विभिन्न विषयमा क्विज प्रतियोगिता पनि आयोजना गरिएको थियो। उक्त क्विज कार्यक्रमलाई रेञ्जर अफिसर सम्पदा साधुले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित अडिशनल चिफ् जुडिशियल मेजिस्ट्रेट तन्मय रोयले आफ्नो सम्बोधनमा वन विभागको आयोजनामा आरण्य सप्ताह अन्तर्गत सचेतना कार्यक्रमको सराहना गर्दै यस्ता सचेतनामूलक कार्यक्रम गर्नु आवश्यक रहेको र यसलाई विशेष गरेर विद्यार्थीहरुले ध्यान दिनु पर्ने बताए। उनले वन संरक्षण र वन्य जीवहरूको संरक्षणमा वन विभागले गरेको कार्यहरु र कदमहरुको पनि सराहना गरे। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा आफ्नो सम्बोधनमा भारतीय वन प्रबन्धन संस्था खरसाङका प्रभारी डा मनोज सिंहले प्रकृतिलाई छेडछाड गर्नु नहुने भन्दै कोरोनाकालमा प्रकृति सन्तुलित रहेको जानकारी गराएका छन्। उनले पर्यावरण प्रदुषण वर्तमानमा मुख्य समस्या बनेको र यस्तो सचेतना कार्यक्रम वर्षभरि आयोजना गरिनु आवश्यक रहेको बताए।

कार्यक्रममा आरण्य सप्ताह अन्तर्गत बस अनि चित्र बनाऊ प्रतियोगिता र निबन्ध प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको छ। यसको साथै कार्यक्रममा सहयोग गर्ने विभिन्न संघ संस्थाहरु र गैर सरकारी संस्थाहरुका प्रतिनिधिहरुलाई पनि सम्मान जनाइएको छ।
उक्त कार्यक्रमपछि बाहिर निस्केर खरसाङको डाउहिलस्थित म्युजियम परिसरमा वृक्ष रोपण कार्यक्रम पनि सम्पन्न भएको छ जसमा सबैले विभिन्न प्रजातिका वृक्षका विरुवाहरु रोपेका थिए।









