गान्तोक। जम्मू कश्मीरको सहयोगमा वर्ष २०२०-देखि सिक्किम विश्वविद्यालयको तत्परतामा सिक्किममा शुरु गरिएको केशर खेती विषयमा हिज राजभवनमा उच्चस्तरीय सभा सम्पन्न भयो। हिजको यो उच्चस्तरीय सभामा राज्यपाल गंगाप्रसाद, राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्यका कृषि तथा वागवाणी विभागीय मन्त्री लगायत जम्मु कश्मीरका कृषि निदेशक मोहम्मद इक्बाल लगायत जम्मु कश्मिरका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सिक्किम विश्वविद्यालयको प्रतिनिधिले सिक्किममा शुरु गरिएको केशर खेतीबारे विस्तृत रुपमा मुख्यमन्त्री अनि राज्यपाललाई अवगत गराए। सिक्किममा केशर खेतीको प्रचुर सम्भावना रहेको साथै अहिलेसम्मको परीक्षण सफलतापूर्वक रहेको पनि मोहम्मद इक्बालले अवगत गराए।
केशर खेतीलाई सिक्किममा बढ़ाएर लानको निम्ति राज्य सरकारले सबै आवश्यक कदम उठाउने मुख्यमन्त्री प्रेमसिंह तामाङले बताए। यसको साथै आफु स्वयं जम्मू कश्मीर गएर खेतीको प्रणालीबारे जानकारी लिने पनि बताए। सिक्किम क्रान्तिकारी मोर्चाको सरकार गठनपछि राज्यका हरेक किसानहरूलाई सरकारले खेतीमा प्रोत्साहन गरिरहेको बताउँदै राज्यमा अहिले कृषिको क्षेत्रमा क्रान्ति नै आएको जनाए। सभालाई राज्यका राज्यपाल अनि कृषि मन्त्री लोकनाथ शर्माले पनि सम्बोधन गरेका थिए।










