कालेबुङ: सिक्किमबाट सिलगडीतर्फ यात्रा गरिरहेको एकै परिवारका तीनजना वयस्क र एक नाबालिका रहस्यमय रूपमा बेपत्ता भएपछि टिस्टा नदी आसपास व्यापक खोजी तथा उद्धार अभियान शुरु गरिएको छ। प्राप्त जानकारी अनुसार बेपत्ता परिवार कालो रङको टाटा नेक्सन (नम्बर एसके०१पीसी९८७२) मा यात्रा गरिरहेका थिए। शुक्रबार दिउँसो लगभग ३:३० बजेदेखि ४:३० बजीको बीचमा रम्बी क्षेत्रमा उनीहरूसँग अन्तिम पटक सम्पर्क भएको थियो। त्यस यता परिवारसँग कुनै सम्पर्क हुन सकेको छैन।
यसै बीच शुक्रबार सेवक र बाघपुलबीचको भेलबाडी क्षेत्रमा पैह्रो तथा हिलोसहितको ढिस्को झरेर राष्ट्रिय राजमार्ग१० मा आवागमन प्रभावित भएको थियो। प्रारम्भिक अनुमान अनुसार परिवार सवार गाडी उक्त प्राकृतिक आपदा परेको हुनसक्ने आशंका गरिएको छ।
स्रोतका अनुसार बेपत्ता परिवारको मोबाइल फोनको अन्तिम लोकेशन पनि सोही क्षेत्रमा देखिएको छ। पैह्रो प्रभावित क्षेत्रमा खोजीका क्रममा उद्धार टोलीले एउटा गाडीको ब्याट्री तथा केही भग्नावशेष फेला पारेको बताइएको छ, जसले गाडी बगाएको हुनसक्ने आशंका गरिए को छ। घटनापछि परिवारका सदस्य, आफन्त, सिक्किम प्रशासन तथा पश्चिम बंगाल पुलिसले संयुक्त रूपमा खोजी गरिरहेका छन्। शनिबार बिहानदेखि राष्ट्रिय आपदा बल (एनडीआरएफ) को विशेष टोलीले खोजी कार्यलाई तीव्र बनाएको छ। अधिकारीहरूका अनुसार टिस्टा नदीमा दुईवटा उद्धार नौका परिचालन गरिएको छ भने थप दुई टोलीलाई सेवकदेखि तलतिर नदी किनारका विभिन्न क्षेत्रमा खोजीका लागि खटाइएको छ।
एनडीआरएफका उप-कमान्डेन्ट सञ्जय रञ्जनको नेतृत्वमा सञ्चालन भइरहेको खोजी अभियानमा सुरक्षा बल, उद्धारकर्मी तथा बेपत्ता परिवारका आफन्तहरू सक्रिय रूपमा संलग्न छन्।
समाचार तयार पार्दासम्म परिवारको अवस्था वा ठेगानाबारे कुनै आधिकारिक पुष्टि हुन सकेको छैन। तथापि टिस्टा नदी तथा आसपासका क्षेत्रमा व्यापक खोजी कार्य जारी रहेको छ। बेपत्ता परिवार वा उक्त गाडी सम्बन्धी कुनै जानकारी भएमा ८३४८३५३१०९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।










