गान्तोक: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागका माननीय मन्त्री छिरिङ टी. भोटियाले बुधबार आफ्नो कार्यकक्षमा विभागको सम्पूर्ण सरकारी कामकाजलाई डिजिटल प्रणालीमा लैजाने उद्देश्यका साथ ‘ई-अफिस’ वेब एप्लिकेसनको औपचारिक शुभारम्भ गर्नुभएको छ।
सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै मन्त्री भोटियाले मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनानुसार सार्वजनिक सेवा प्रवाहलाई चुस्त, पारदर्शी र झन्झटमुक्त बनाउन यो प्रणाली लागू गरिएको बताउनुभयो। उहाँले नयाँ प्रविधिको कार्यप्रणालीबारे प्रष्ट पार्दै भन्नुभयो, “कुनै पनि सरकारी कागजात वा फाइललाई स्क्यान गरी पोर्टलमा अपलोड गरेपछि त्यसको वास्तविक समय (रियल-टाइम) को अवस्था सहजै ट्र्याक र अनुगमन गर्न सकिनेछ।” यो महत्त्वपूर्ण कदमलाई विभागमा सफलतापूर्वक कार्यान्वयन गराउनु भएकोमा उहाँले पर्यटन विभागका कमिस्नर-कम-सचिव राजकुमार यादवको सराहना गर्नुभयो।
वेब एप्लिकेसनका फाइदाहरूमाथि प्रकाश पार्दै मन्त्रीले यो समयको बचत गर्ने एउटा उत्तम पहल भएको र यसले सम्बन्धित अधिकारीहरूलाई डिजिटल माध्यमबाटै प्रस्तावहरूको समीक्षा गरी आवश्यक कारबाही गर्न सक्षम बनाउने उल्लेख गर्नुभयो। यो प्लेटफर्मले जिल्लास्थित पर्यटन कार्यालयहरूलाई सिधै प्रधान कार्यालयसँग जोड्ने र आगामी दिनमा पर्यटन सूचना केन्द्रहरूलाई पनि यसै प्रणालीमा एकीकृत गरिने जानकारी उहाँले दिनुभयो।
डिजिटल सुशासनतर्फको यस यात्रामा विभाग आधुनिक युग अनुकूल अघि बढ्न प्रतिबद्ध रहेको मन्त्री भोटियाले बताउनुभयो। उक्त शुभारम्भ कार्यक्रममा विधायक एवं विभागका सल्लाहकार सुदेशकुमार लिम्बू, पर्यटन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्पा, सिक्किम पर्यटन विकास निगम (एसटीडीसी) का अध्यक्ष लुकेन्द्र रसाइली, सचिव होन्डला ग्याल्छेन, एसटीडीसीका प्रमुख कार्यकारी अधिकृत ग्युर्मी योशाल, विभागका प्रमुख निर्देशक विनोद शर्मा तथा निर्देशक छिरिङ पाल्फुन योङ्दा लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।










