मंगन: “नशामुक्त भारत अभियान – विकसित भारतको पहिचान” भन्ने नाराका साथ गत असार ४ गते (जून १८) देखि सुरु भएको हप्ताव्यापी ‘नशामुक्त भारत सप्ताह’ बुधबार मंगन नगर पञ्चायतमा एक सचेतना कार्यक्रमका साथ सम्पन्न भएको छ।
मंगन जिल्लाका मुख्य शिक्षा अधिकारी डेभिड जी लिंगदोङको मुख्य आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कल्याण अधिकारी गणेश थापा, मंगनका थाना प्रभारी (एसएचओ) प्रशान्त राई र मंगन पुनर्स्थापना केन्द्रका संस्थापक नुर्सेसस लेप्चा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, ट्याक्सी चालक संघका प्रतिनिधि र स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।
कल्याण अधिकारी गणेश थापाले हप्ताभरि सञ्चालन गरिएका विभिन्न गतिविधिमाथि प्रकाश पार्दै अभियानको महत्त्वबारे जानकारी गराएका थिए। सचेतना जगाउने उद्देश्यले एकलव्य मोडल आवासीय विद्यालयका विद्यार्थीहरूले लागुऔषध दुर्व्यसनीको गम्भीर असर र यसबाट बच्ने उपायबारे एक चेतनामूलक नाटक (सडक नाटक) प्रस्तुत गरेका थिए।
कार्यक्रमका स्रोत व्यक्ति नुर्सेसस लेप्चाले आफ्नो व्यक्तिगत अनुभव र सफलताका कथाहरू सुनाउँदै दुर्व्यसनीविरुद्ध एकजुट हुन आग्रह गरे। त्यस्तै, एसएचओ प्रशान्त राईले समाजमा लागुऔषधले निम्त्याएका चुनौतीबारे चर्चा गर्दै मन्त्रालयको नि:शुल्क परामर्श हेल्पलाईन नम्बर १४४४६ र एनडीपीएस कानूनका प्रावधानबारे जानकारी गराए। उनले मंगन पुलिस लागुऔषध कारोबारविरुद्ध शून्य सहनशीलता (जिरो टोलरेन्स) का साथ अघि बढ्ने प्रतिबद्धता समेत दोहोर्याए।

मुख्य अतिथि लिंगदोङले उपस्थित सबैलाई नशामुक्त भारतको शपथ गराएका थिए भने कल्याण निरीक्षक शेराब पाल्डेन भोटियाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूका लागि छात्रवृत्ति योजनाहरू सम्बन्धी जानकारी दिन एउटा सहायता कक्ष (हेल्प डेस्क) समेत स्थापना गरिएको थियो।










