गान्ताेक: सिक्किमका मनोनीत राज्यपाल दुष्यन्त कुमार गौतम आइतबार गान्ताेकको आइपुग्नुभएको छ। भोलि असोज ३३ गते (अक्टोबर १९) गान्ताेकस्थित लोक भवनमा आयोजना हुने शपथ ग्रहण समारोहका लागि उहाँ यहाँ आइपुग्नुभएको हो।
बुर्तुक हेलिप्याडमा अवतरण गर्दा मनोनीत राज्यपाल गौतमलाई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभाकी उपसभामुख राजकुमारी थापा, मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, गान्ताेक नगर निगमका मेयर तथा काउन्सिलरहरू, मुख्य सचिव, प्रहरी महानिरीक्षक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारहरू, विभिन्न आयोग तथा बोर्डका अध्यक्षहरू लगायत उच्चपदस्थ सरकारी अधिकारीहरूले भव्य स्वागत गर्नुभएको थियो। सो अवसरमा सिक्किम सशस्त्र पुलिसको टोलीले उहाँलाई ‘गार्ड अफ अनर’ सम्मान समेत अर्पण गरेको थियो।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले गत असोज २६ गते (अक्टोबर १२) दुष्यन्त कुमार गौतमलाई सिक्किमको २१ औँ राज्यपालमा नियुक्त गर्नुभएको हो। उहाँले निवर्तमान राज्यपाल ओम प्रकाश माथुरको स्थान लिनुभएको छ। नवनियुक्त राज्यपाल गौतमको शपथ ग्रहण समारोह भोलि सम्पन्न हुने कार्यक्रम रहेको छ।





