खरसाङ: साहित्य अकादमी र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा साहित्य मञ्च र लेखकसित भेटघाट कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङको डा. पारसमणि प्रधान प्रेक्षागृहमा आगामी २६ सेप्टेम्बर शनिवारको दिन सम्पन्न हुने भएको छ। उक्त दिन बिहानको समयमा साहित्य मञ्च अन्तर्गत हुने साहित्यिक कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार एवं प्राध्यापक गंगाप्रसाद भट्टराईले गर्ने भएका छन्। साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामाले जानकारी गराए अनुसार साहित्य मञ्च कार्यक्रमको अवसरमा दुईजना लेखकहरु क्रमशः रेमिका थापाले ‘भारतीय नेपाली कवितामा पाइने सौन्दर्य चिन्तन’ विषयमा कार्य पत्र प्रस्तुत गर्नेछन् भने वासुदेव थापाले ‘भारतीय नेपाली साहित्यमा सन्दर्भ : राष्ट्रियता अनि चिन्तन’ विषयमा कार्य पत्र प्रस्तुत गर्नेछन्। यसको साथै कविहरु महेन्द्र स्याङ्बो, प्रभात राई र प्रदीप शेर्पाले कविता वाचन गर्ने भएका छन्। यसको साथै अपरान्हको समयमा लेखकसित भेटघाट कार्यक्रम आयोजना गरिनेछ। यस कार्यक्रममा खरसाङका वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’ सित कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त साहित्यिक कार्यक्रममा सबैलाई उपस्थितिको लागि साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा र गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट उपाध्यक्षद्वय प्रकाश प्रधान र विनोद रसाइलीले आह्वान् गरेका छन्।





