गान्तोक: गान्तोकको पेन्लोङ निवासी एक महिला, साइबर ठगीको ठूलो जालमा परेकी छन्। पीडित महिलाको जानकारी र अनुमति बिना नै उनको बैंक खाताबाट लाखौं रुपैयाँ निकालिएको घटना सार्वजनिक भएको छ।
प्रहरी रिपोर्टका अनुसार गत अप्रिल १४ तारिखका दिन पीडित महिलालाई बैंकबाट एउटा सन्देश प्राप्त भएको थियो, जसमा उनको क्रेडिट कार्ड प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरमा वित्तीय लेनदेन गरिएको जानकारी दिइएको थियो। उक्त सन्देश पाएलगत्तै बैंक पुगेकी उनले प्रबन्धकसँग भेट गर्दा आफ्नो क्रेडिट कार्ड पटक-पटक प्रयोग गरी कुल ९ लाख ४ हजार ७१४ रुपैयाँ निकालिएको फेला पारेकी थिइन्।
बैंक प्रबन्धकले उक्त घटना साइबर अपराध भएको पुष्टि गर्दै तत्काल उजुरी दर्ता गर्न सुझाव दिएका थिए। सोही आधारमा पीडित महिलाले ‘नेसनल साइबर क्राइम रिपोर्टिङ पोर्टल’ (एनसीआरपी) मार्फत आफ्नो उजुरी दर्ता गराएकी छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै डिजिटल ठगीबाट बच्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।










