मन्त्री लिम्बूद्वारा मेडिकल कलेज र जन सेवा भवनको निरीक्षण

FB_IMG_1776792716163

गान्तोक: ​सिक्किमका भवन तथा आवास एवं मजदुर विभाग मन्त्री भीमहाङ लिम्बूले मंगलबार राजधानी गान्तोकका दुई महत्त्वपूर्ण पूर्वाधारहरूको निरीक्षण भ्रमण गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी २७ अप्रिलमा हुने सिक्किम भ्रमणको तयारीलाई मध्यनजर गर्दै मन्त्री लिम्बूले सोच्यागाङस्थित हेलेन लेप्चा मेडिकल कलेज र तादोङको लुम्सेमा निर्माणाधीन जन सेवा भवनको वस्तुस्थिति बुझ्नुभएको हो।
​भ्रमणका क्रममा मन्त्री लिम्बूले सोच्यागाङमा मेडिकल कलेजको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको थियो भने लुम्सेस्थित सचिवालय एनेक्सी जन सेवा भवनका प्रत्येक तल्लाको सूक्ष्म निरीक्षण गर्नुभएको थियो। उहाँले निर्माण कार्यमा प्रयोग भइरहेका सामग्रीहरूको गुणस्तर जाँच गर्दै कुनै पनि सम्झौता नगर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो। मन्त्री लिम्बूले विभागीय अधिकारी र ठेकेदारहरूलाई तोकिएको समयसीमा भित्रै गुणस्तरीय काम सम्पन्न गर्न कडा निर्देशन दिनुभएको छ।
​निरीक्षणका क्रममा डिई (परियोजना) ले निर्माणाधीन पूर्वाधारहरूको प्राविधिक पक्ष र प्रगतिका बारेमा मन्त्रीलाई विस्तृत जानकारी गराएका थिए। उक्त भ्रमण टोलीमा भवन तथा आवास विभागका सचिव, मुख्य अभियन्ता, अतिरिक्त सिई र मुख्य वास्तुकार लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement