गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सिटिजन एक्सन पार्टीका प्रमुख समन्वयक गणेश राईले एसकेएममाथि लगाएका आरोपहरूको घोर विरोध एवं निन्दा गरेको छ। योक्सम टाशीडिङमा हिजो आयोजित पार्टीको एक कार्यक्रममा गणेश राईले एसकेएममाथि विभिन्न आरोपहरू लगाएका थिए।
एसकेएम पार्टी प्रचार-प्रसार समन्वयक नवीन दाहालले आज जारी एक प्रेस विज्ञप्तिमा गणेश राईले लगाएका आरोपहरूको घोर विरोध एवं निन्दा गर्दै सरकारले विगत चार वर्षमा गरेका राज्यहितका कामहरू नदेखेर सुधारको नौटङ्की गरिरहेको बताएका छन्। उनले भनेका छन्, ‘सुधारको नारा लिएर घुमिहिँड्ने क्याप प्रमुख गणेश राईले सुधारकै राजनीति गर्न चाहन्थे भने जब राजनीतिमा खुट्टा हाले तबदेखि नै सुधारात्मक विचार लिएर आउनुपर्थ्यो। जतिबेला उनको एसडीएफ पार्टीको सरकार थियो अनि आफ्नै श्रीमती मन्त्री पदमा थिइन् त्यतिबेला गरीब आम जनताको नाममा ऋण काड़ेर धाँधली गर्ने अनि अहिले सत्ता हराएपछि सुधार गर्छु भन्नुलाई हतोत्साहितपूर्ण बयान ठान्दछ एसकेएम पार्टी।’
एसकेएमले गणेश राईमाथि सरकारी रकमको दुरुपयोग गरेर अहिले विवादमा परेपछि एसकेएम सरकारलाई दोष्याएर उनी अवश्यै उम्कन पाउने छैनन् भनी बताएको छ। एसकेएमले भनेको छ, ‘यदि राईले धाँधली गरेका छैनन् र निर्दोष छु भन्छन् भने माइक अघि उभिएर भाषणमा भन्ने होइन न्यायालयमा गएर आफूलाई निर्दोष प्रमाणित गरून्।’
विज्ञप्तिमा अघि भनिएको छ, ‘अहिले गणेश राईको कार्यक्रम, अभियान वा नीति भनेको केवल सरकारमाथि दोष लगाउनु र सरकारलाई गाली गर्नुबाहेक केही छैन। विपक्षी भनेको सरकारको विरोध र आलोचना गर्ने दल मात्र हो भन्ने बुझेका राईले विशुद्ध राजनीति अनि जनहितकारी राजनीति कसरी गरिन्छ भन्ने एसकेएम पार्टीबाट सिक्न आउन्।’










