गान्तोकः आगामी १० अगस्तको दिन रम्फूमा आयोजना हुने सत्तारूढ़ एसकेएम पार्टीको छैठौं जन उन्मुक्ति दिवसलाई लिएर उत्सव समितिको समन्वय बैठक आज एसकेएम पार्टी महासचिव तथा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीको उपस्थितिमा सम्पन्न भयो। बैठकमा युवा उपाध्यक्ष (प्रभारी) तथा मन्त्री सञ्जित खरेल, राज्य स्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत तथा पार्टीका अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
बैठकमा जन उन्मुक्ति दिवस २०२३ को तयारी सम्बन्धी विभिन्न विषयमा छलफल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकमा वृहत अभियान सञ्चालन गर्नका साथै कार्यक्रममा सहभागी बन्न जनसाधारणलाई सामूहिक आमन्त्रण गर्ने निर्णय पनि गरिएको छ। उक्त समारोहको अवसरमा विभिन्न प्रतिष्ठित सामाजिक व्यक्तित्वहरू तथा राजनीतिज्ञहरुले औपचारिक रुपमा एसकेएम पार्टीमा प्रवेश गर्ने पनि बैठकमा जानकारी गराइएको छ।
कार्यक्रममा पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा सिक्किम र राज्यका जनताको हितमा विभिन्न महत्वपूर्ण घोषणाहरू गर्ने अपेक्षा गरिएको बताइएको छ। छैठौं जनउन्मुक्ति दिवस कार्यक्रमलाई लिएर पार्टी कार्यकर्ताहरुले राज्यका विभिन्न पार्टी कार्यालयमा समन्वय बैठक आयोजन गर्नका साथै राज्यभरि पार्टीको झण्डा फहराउने अभियानमा उत्साहका साथ लागिपरेको विज्ञप्तिमा बताइएको छ।









