गान्तोकः भारतले जी-२० अध्यक्षताको उत्सव पालन गरिरहेको समय, आकाशवाणीद्वारा यहाँको मनन केन्द्रमा “लोक समागम” नामक लोक सङ्गीत कार्यक्रम आयोजन गरियो। कार्यक्रममा लेप्चा, लिम्बू तथा सिक्किमे भोटिया जनजातिको लोक गीत एवं नृत्य प्रस्तुत गरिएको थियो, जसले सिक्किमको संस्कृतिमा धेरै महत्त्व राख्ने गर्दछ। उक्त जानकारी पीआईबीले दिएको छ।
भारतको जी-२० अध्यक्षताका साथै आजादीको अमृत महोत्सवको परिप्रेक्ष्यमा सिक्किम राज्यको जीवन्त संस्कृति प्रकाश पार्न यो कार्यक्रम महत्त्वपूर्ण रहेको थियो। कार्यक्रममा प्रतिभागीहरूलाई स्वागत जनाउँदै आकाशवाणी गान्तोकको अभियान्त्रिकी निर्देशक अवधेश्वर सहाईले जी-२० का साथै अमृत कालको शुभ घडीमा आयोजन गरिएको र यसको उद्देश्य विभिन्न सिक्किमे समुदायको समृद्ध साथै आकर्षक लोक संस्कृति प्रकाश पार्नुरहेको जानकारी दिए।
भारतले १ दिसम्बर २०२२ देखि एक वर्षका लागि “वसुधैव कुटुम्बकम्” अर्थात् एक धरती, एक परिवार, एक भविष्यको ध्येयवाक्यका साथ अध्यक्षता भार सम्हालिरहेको छ। भारतको जी-२० अध्यक्षता अन्तर्गत देशको विभिन्न शहरमा बैठकहरू आयोजन गरिँदैछ, जहाँ देशको विशाल सांस्कृतिक, प्राकृतिक अनि ऐतिहासिक धरोहरहरू विश्वसामु प्रस्तुत गरिँदैछ।
यसै वर्ष मार्च महिनामा दुईवटा यस्ता बैठक सिक्किम राज्यमा आयोजन गरी यहाँको समृद्धि सांस्कृतिक परम्परा, कला, परिकारका साथमा अन्य विशेषता प्रकाश पारिएको थियो।










