मङ्पु: श्री प्राणनाथजी महाराजको ४०८ औँ जन्मजयन्तीको अवसरमा श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेसन, मङ्गपूको तत्त्वावधानमा सरस्वती उच्चत्तर माध्यमिक विद्यालयको मङ्गल प्रेक्षागृहमा लागुपदार्थ तथा अन्य नशालु पदार्थको दुर्व्यशनविरुद्ध विशेष सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख स्रोत वक्ताका रूपमा सिक्किम सरकारका मुख्यमन्त्रीका प्रमुख सल्लाहकार तथा सारथी फाउण्डेसनका निर्देशक सन्त रोहितराज महाराज उपस्थित थिए। उनले विद्यार्थीहरूलाई लागुपदार्थ दुर्व्यसनका दुष्परिणामबारे जानकारी दिँदै यसबाट बाँच्न आवश्यक सावधानी, उचित संस्कार र सही मार्गदर्शनको महत्त्वमाथि प्रकाश पारेका थिए। सरस्वती उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जित थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरकारी सिन्कोना बगानका व्यवस्थापक गोपाल लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सन्त मङ्गल एकाडेमी तथा सरस्वती उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूका साथै मङ्पू क्षेत्रका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू, स्थानीय पुलिस थानाका ओसी, भूतपूर्व शिक्षक एस. एम. राई, भूतपूर्व प्रधानाध्यापक एन. बी. छेत्री तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वर्तमान समयमा लागुपदार्थ तथा अन्य नशालु पदार्थको दुर्व्यसनले समाजमा गम्भीर चुनौती खडा गरिरहेको छ। मङ्पू क्षेत्र पनि यस समस्याबाट अछुतो नरहेको सन्दर्भमा आयोजित यस सचेतना कार्यक्रमले विशेष गरी विद्यार्थीवर्गलाई दुर्व्यशनको जोखिमबारे सचेत गराउने र उनीहरूलाई सकारात्मक जीवनपथतर्फ अभिप्रेरित गर्ने उद्देश्य राखेको थियो। प्रमुख स्रोत वक्ता सन्त रोहितराज महाराजले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै उचित संस्कार, नैतिक मूल्य र सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। उनले विद्यार्थीहरू नै समाज र देशका भावी कर्णधार भएकाले उनीहरूको जीवनलाई सही दिशा दिन परिवार, विद्यालय र समाज सबैको महत्त्वपूर्ण भूमिका रहने कुरा स्पष्ट पारे। दुर्व्यशनबाट टाढा रहँदै अनुशासित, जिम्मेवार र उद्देश्यपूर्ण जीवन जिउन उहाँले विद्यार्थीहरूलाई प्रेरित गरेका थिए। कार्यक्रममा भूतपूर्व प्रधानाध्यापिका चन्द्रकला राई, भूतपूर्व प्रधानाध्यापक एन. बी. छेत्री तथा वर्तमान प्रधानाध्यापक सञ्जित थापाले पनि सम्बोधन गरेका थिए। उनीहरूले विद्यार्थीहरूको भविष्य सुरक्षित राख्न तथा समाजलाई दुर्व्यशनमुक्त बनाउन सचेतना, उचित मार्गदर्शन र सामूहिक प्रयास आवश्यक रहेको विचार व्यक्त गरेका थिए। कार्यक्रमको प्रारम्भमा फाउण्डेसनका सचिव हरिलाल छेत्रीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सन्त मङ्गल एकाडेमीका प्राचार्य मञ्जीत थापा तथा सरस्वती उच्चतर माध्यमिक विद्यालयका शिक्षिका सपना खड्काले गरेका थिए। प्राणनाथ परमार्थ सेवा फाउण्डेसनद्वारा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा लागुपदार्थ दुर्व्यसनविरुद्ध चेतना जगाउनका साथै स्वस्थ, अनुशासित र जिम्मेवार समाज निर्माणका लागि सामूहिक प्रतिबद्धताको सन्देश प्रवाह गरेको छ।





