गान्तोक: राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का युवा नेताहरूलाई शनिबार दिल्ली प्रशासनले पक्राउ गरेको छ।
एसडीएफले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना वरिष्ठ नेता तथा युवा पदाधिकारीहरूलाई प्रदर्शनस्थलबाटै पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेहरूमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उत्तर सिक्किमका सङ्गठन प्रभारी कर्मा टाशी भोटिया, नाम्ची जिल्लाका महासचिव रिवाज लिम्बू र सोरेङ जिल्लाका युवा प्रभारी ईजाक लिम्बू रहेका छन्।
सिक्किममा सम्पन्न निर्वाचनको निष्पक्षता, प्रयोग गरिएका चुनावी यन्त्र तथा व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै दिल्लीमा महाविरोध प्रदर्शनको आह्वान गरिएको थियो। लोकतन्त्रमा नागरिकले आफ्ना असहमति र विरोध प्रकट गर्न पाउनुपर्ने अधिकार रहेको उल्लेख गर्दै एसडीएफले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेताहरूलाई नियन्त्रणमा लिनु सत्तावाद हाबी हुनुको प्रतीक भएको र यसले लोकतान्त्रिक मूल्य–मान्यताको उपहास गरेको भन्दै घटनाको घोर भर्त्सना गरेको छ।





