गान्तोक: शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि गर्ने र कक्षाकोठाका चुनौतीहरूलाई वैज्ञानिक ढंगले समाधान गर्ने उद्देश्यका साथ आयोजित तीन दिने ‘सहयोगात्मक कार्यमूलक अनुसन्धान’ (कलाबाेरेटिभस एकशन रिसर्च) अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। जिल्ला शिक्षा तथा प्रशिक्षण संस्थान (डाइट) गान्तोकद्वारा आयोजित यस कार्यक्रममा गान्तोक, पाकिम र मंगन जिल्लाका सरकारी तथा निजी विद्यालयका ६० जना शिक्षकहरूको सहभागिता थियो।
तथागत अडिटोरियम हलमा साउन १ देखि ३ गते (जुलाई १५–१७) सम्म सञ्चालित यस कार्यक्रमले शिक्षकहरूलाई कक्षाकोठाका समस्या पहिचान गर्न, व्यावहारिक समाधानका उपायहरू विकास गर्न र त्यसको प्रभाव मूल्याङ्कन गर्न सिकाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विभागका अतिरिक्त निर्देशक ग्याल्सेन शेर्पाले कार्यमूलक अनुसन्धानले शिक्षण विधिलाई थप प्रभावकारी बनाउने र शिक्षकहरूलाई नवप्रवर्तनतर्फ प्रेरित गर्ने बताए।
डाइट गान्तोकका प्रधानाचार्य छिरिङ डब्ल्यु. भोटियाले राष्ट्रिय शिक्षा नीति (एनईपी २०२०) को मर्म अनुरूप अनुसन्धानमा आधारित शिक्षण विधिलाई अघि बढाउनु आवश्यक रहेको धारणा राखे।
समापन सत्रमा राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् (एससीईआरटी) का अतिरिक्त निर्देशक टी. एल. भोटियाले सहभागी शिक्षकहरूलाई अनुसन्धान परियोजनाहरू प्रतिबद्धताका साथ पूरा गर्न र उत्कृष्ट अभ्यासहरू आपसमा साटासाट गर्न आग्रह गरे।
तालिमका क्रममा शिक्षकहरूले भाषा सुधार, गणित, विज्ञान र सामाजिक अध्ययन जस्ता विषयसँग सम्बन्धित ४० वटा प्रारम्भिक अनुसन्धान प्रस्तावहरू तयार पारेका छन्। यी परियोजनाहरू पूरा गरी बुझाउन शिक्षकहरूलाई चार महिनाको समयसीमा दिइएको छ। कार्यक्रमको संयोजन डाइटकी लेक्चरर डा. तेन्जिङ एन. भोटियाले गरेकी थिइन्।










