सोरेङ: सोरेङ जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा सञ्चालित मतदाता नामावलीको विशेष सघन परिमार्जन (एसआईआर २०२६) अन्तर्गत दाबी, विरोध र अन्य मामिलाहरूको सुनुवाइ शुक्रबार दोस्रो दिन पनि जारी रह्यो।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरूमा निर्वाचन दर्ता अधिकारी (ईआरओ) र अतिरिक्त निर्वाचन दर्ता अधिकारी (एईआरओ) हरूले यस प्रक्रियालाई अगाडि बढाइरहेका छन्। सोरेङका जिल्ला निर्वाचन अधिकारी (डीईओ) तथा जिल्लाधीश धीरज सुवेदीले यस सम्पूर्ण प्रक्रियाको प्रत्यक्ष अनुगमन गरिरहेका छन्।
शुक्रबार चारवटै निर्वाचन क्षेत्रमा गरी कुल २२० वटा मामिलाहरूको फर्स्योट गरियो, जसअनुसार रिन्चेनपोङमा ३१, दरमदिनमा ४९, सोरेङ-चाकुङमा ५४ र साल्घारी-जुम निर्वाचन क्षेत्रमा ८६ वटा मामिलाको सुनुवाइ भएको छ। जुलाई १६ र १७ गरी दुई दिनमा हालसम्म कुल ३७१ वटा दाबी-विरोधको फर्स्योट भइसकेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासनले सम्बन्धित सबै मतदाताहरूलाई तोकिएको समयमै सुनुवाइमा उपस्थित भई यस विशेष परिमार्जन कार्यलाई सफल बनाउन पूर्ण सहयोग गर्न अपिल गरेको छ।










