पाकिममा मतदाता नामावली परिमार्जन कार्यको अनुगमन, शुद्धता र पारदर्शितामा जोड

2e01fc22-0feb-45f4-94ee-886be93729af

पाकिम: मतदाता नामावलीको विशेष सघन परिमार्जन (एसआईआर २०२६) अन्तर्गत संक्षिप्त गणना चरण (इम्युनेरेसन फेज) पूरा भएसँगै यसको स्थलगत प्रभावकारिता बुझ्न अनुगमन सुरु गरिएको छ। यसै क्रममा एसआईआरका लागि तोकिएका मतदाता नामावली पर्यवेक्षक एवं ग्रामीण विकास विभागका सचिव अनिलराज राईले शुक्रबार पाकिम जिल्लाका विभिन्न क्षेत्रको निरीक्षण गरेका छन्।
​जिल्लामा सञ्चालित निर्वाचनसम्बन्धी गतिविधि, भारत निर्वाचन आयोगको निर्देशिका पालना र अधिकारीहरूद्वारा गरिएको स्थलगत प्रमाणीकरणको गुणस्तर मूल्याङ्कन गर्न यो अनुगमन गरिएको हो।
​पर्यवेक्षक राईले १९-रेनाक निर्वाचन क्षेत्रको पार्ट नम्बर २७ को भ्रमण गरी सहायक निर्वाचन दर्ता अधिकारी (एईआरओ) एवं खण्ड विकास अधिकारी (बीडीयो) र बुथ स्तरका अधिकारी (बीएलओ) सँग छलफल गरे। त्यसैगरी, उनले २०-चुजाचेन निर्वाचन क्षेत्रका विभिन्न बुथहरूको पनि निरीक्षण गरी मतदाता प्रमाणीकरण र आवश्यक कागजातहरूको अवस्थाबारे जानकारी लिएका थिए।
​निरीक्षणका क्रममा पर्यवेक्षक राईले मतदाता नामावलीको तयारीमा शुद्धता, पारदर्शिता र समावेशीता सुनिश्चित गर्न निर्देशन दिए ताकि कोही पनि योग्य मतदाता नछुटून्। उनले दाबी र विरोधको फर्स्योट तोकिएको समयसीमा भित्रै सम्पन्न गर्नसमेत आग्रह गरे। हाल पाकिम जिल्लाभरि ‘नो म्यापिङ’ सूचीमा रहेका मतदाताहरूका लागि सुनुवाइ प्रक्रिया सुरु भइसकेको प्रशासनले जनाएको छ।

About Author

Advertisement