कालचिनी: अलिपुरद्वार जिल्ला प्रशासन अनि कालचिनी ब्लक प्रशासनको संयुक्त आयोजनामा मङ्गलबार कालचिनी बीडीओ कार्यालय परिसरमा कालचिनी ब्लक स्तरीय शारीरिक रुपले विशेष सक्षम व्यक्तिहरुको जाँच साथै प्रमाणपत्र प्रदान शिविर सम्पन्न भएको जानकारी कालचिनी बीएमओएच डा. सुभाषचन्द्र कर्मकारले दिएका छन्। बिहान १० बजेदेखि सम्पन्न उक्त शिविरमा कालचिनी खण्डको ११वटै ग्राम पञ्चायत क्षेत्रका प्रमाणपत्र नभएका करिब दुई सय भन्दा अधिक शारीरिक रुपले विशेष सक्षम भएकाहरुले प्रमाणपत्रको आवेदन जमा गरेl अब एक सप्ताहभित्र शारीरिक रुपले विशेष सक्षम प्रमाणपत्र लाभार्थीहरुलाई प्रदान गरिने बीएमओएच डा. सुभाषचन्द्र कर्मकारले बताएका छन्।

शारीरिक रुपले विशेष सक्षमहरुका निम्ति राज्य सरकारले मानविक भत्ता दिइरहेको तर पनि आजसम्म धेरै आवश्यकमन्दहरुको आजसम्म सो प्रमाणपत्र नभएको हुनाले उनीहरु सरकारी भत्ताबाट वञ्चित हुन परेको छl यसै स्थितिलाई मध्यनजर गर्दै कालचिनी बीडीओको पहल अनि अलिपुरद्वार जिल्ला प्रशासनको सहयोगितामा जिल्ला अस्पतालका इएनटी चिकित्सकहरुको टोलीको उपस्थितिमा शारीरिक रुपले विशेष सक्षमहरुको जाँच गर्दै प्रमाणपत्र जारी गर्न फारम जमा लिने काम भयो। उक्त शिविरमा तृणमूल युवा कंग्रेसका कालचिनी ब्लक प्रतिनिधिहरुले पनि शिविरमा आएका शारीरिक रुपले सक्षम व्यक्तिहरुलाई पानी र बिस्कुट दिएर सहयोग पुऱ्याएको थियोl शिविरमा विभिन्न ग्राम पञ्चायत क्षेत्रका शारीरिक रुपले सक्षम व्यक्तिहरुलाई ल्याउन चाइल्ड इन नीड इन्स्टीट्यूट (सिनि)को महिला स्टाफ भावना तामाङ र मीरा तामाङ प्रधानले सक्रिय भूमिका गरेकी थिइन्।









