कालचिनी: जयगाउँ गुवाबारी निवासी कविरुल इस्लामलाई कलकत्तामा आयोजित विशेष कार्यक्रममा विश्व बङ्गला बङ्गश्री सम्मानले सम्मानित गरेकोमा मङ्गलबार उनी जयगाउँ फर्किन्दा जयगाउँका समाजसेवीहरुले कविरुल इस्लामलाई फूलगुच्छा दिएर स्वागत तथा सम्मान जनाए। कविरुल इस्लामले सोसियल मिडियाको प्लेटफार्ममा कविता लेख्दै आइरहेको हुनाले उनलाई उनको कविता रचनाको निम्ति कोलकातामा बोलाएर विश्व बङ्गला बङ्गश्री पुरस्कार प्रदान गरिएको हो।
यसरी आफूले यस्तो सम्मान पाउँछ भनेर एक मनले पनि नसोँचेको तर सरकारी नजर आफ्नो कविता रचनामाथि परेर कोलकातामा बोलाएर सम्मानित गर्दा आफै आश्चर्यचकित बनेको उनले बताए। यता जयगाउँका समाजसेवी रजब अली, अमिरुल मियाँ र अन्यान्यले कविरुल इस्लामले जयगाउँको नाम उच्च गरेको र यसको निम्ति उनलाई जयगाउँवासीको तर्फबाट धेरै शुभकामना र उत्तरोत्तर प्रगतिको कामना रहेको जनाएका छन्।











