सालबारी: शब्द समय सालबारीले कथाकार एंव चित्रकार सुभाष छेत्रीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजन गरी उनलाई कीर्ति र कर्ममा स्मरण गऱ्यो। हिमुलका सह निर्देशक जस्ता उच्च पदमा लामो समय सेवा पुऱ्याएका छेत्रीको १२ मईका बिहान सिलगढीको एक नर्सिङ होममा ७५ वर्षको उमेरमा निधन भएको हो। उनी दुग्ध विशेषज्ञ पनि थिए। कलम र कुचीमार्फत् आफ्नो सिर्जनालाई तीक्ष्ण अभिव्यक्त गर्ने सुभाष छेत्री सालबारीको साहित्यिक समागम ‘शब्द समय’ -का एकजना सदस्य पनि थिए। यस श्रद्धाञ्जली सभामा वरिष्ठ कवि मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, नाट्य अभिनेता टंक शर्मा, लेखक डीएस बमजन, कथाकार जीत सुनार, कवि लीलबहादुर सुनार, लेखिका बबिता मादेन, नीरा सुब्बा नेचाली, कविता अधिकारी, पद्मश्री लक्ष्मी देवान, मणिका प्रधान गुरुङ, हेमन्त काफ्ले, कथाकार शरण शरद शर्मा, लेखक आई. एन. शर्मा, पत्रकार अनुप छेत्री, शब्द समयका संयोजक कवि निर्मल सिन्चुरी, कवि पूर्ण मगर आदिले सुभाष छेत्रीसँगका सम्झना साझा गर्नका साथै उनको कथाकारिता र चित्रकारितामाथि आ-आफ्नो मन्तव्य राख्दै स्वर्गीय छेत्रीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।










