सिलगढ़ी: शब्द समय सालबारीको ११५औ॔ प्रकरण २५ फरवरीको दिन स्थानीय सयपत्री सङ्घ भवनमा सम्पन्न भयो। यस प्रकरणमा पनि सदैवजस्तै सर्वप्रथम शब्द समयका अभिभावक व्यक्तित्व साहित्यकार नरबहादुर दाहालले आफ्ना उद्गारहरू राखे। यस क्रममा उनले कवि अज्ञेय, जेन कविता, साहित्यकार जनकलाल शर्मा आदिबारे आफ्ना सम्झनाहरू साझा गरे अनि प्रेम साहित्यमाथि पनि चर्चा गरे। उनले हालै नेपाली साहित्य परिषद् शिलाङ्ले स्वर्ण जयन्तीको अवसरमा प्रकाशित गरेको पत्रिका ‘मादल’-मा छापिएको प्रेम विषयक आफ्नो लघुकथा ‘प्रेम-पत्र’ पठन गरेर सुनाए। यस प्रकरणमा वरिष्ठ साहित्यकार अनि सर्जकहरूले आआफ्ना रचनाहरू पठन गरे। वरिष्ठ कवि भविलाल लामिछाने ‘भ्यालेन्टाइन डे’ शीर्षकमा ओजपूर्ण कविता सुनाए। कथाकार अमला सुब्बा छेत्रीले सुन्दर भाव अनि शैलीमा लेखिएको कथा ‘कुकुरको पुच्छर’ सुनाइन्। युग्मककार कालूसिंह रनपहेंलीले केही युग्मकहरूसित कथा-कुटीर ‘मेरो दुस्साहस अनि हिमालको साहस’ शीर्षकमा सुनाए। कथाकार जीतबहादुर सुनारले मीठो संस्मरणात्मक कथा ‘पे टोयलेट’ पढेर सुनाए। कथाकार पी.टी. योल्मोले बौद्ध दर्शनसित नैतिक मूल्य बोकेको सुन्दर कथा सुनाए। कथाकार सुवास छेत्रीले कथा ‘भय’ सुनाएका थिए। अ.प्रा. कप्तान महेश कुमार सुब्बाले हास्य व्यङ्ग्यात्मक दुई कविताहरू सुनाए। लघु कथाकार मणिकुमार प्रधानले यसचोटि एक कविता सुनाए, कविताको शीर्षक थियो ‘बाबुले दिएको करङ’। रम्भास कवि लीलबहादुर सुनारले ‘प्रेम’ शीर्षकको कवितासित मुक्तक पठन गरे। अवकाशप्राप्त डीएसपी सर्जक निर्मल सिन्चुरीले सुनाएका कविता थियो ‘वास उठ्नै लाग्यो’। साहित्यकार प्रकाशमणि प्रधानले सुनाए ‘म निदाएको छु’ शीर्षकको कविता। कवि गङ्गा प्रधानले ‘खै यो जिन्दगी कस्तो कस्तो’ शीर्षकको कवितासित घतलाग्दो मुक्तक सुनाएका थिए। कवि शैलेन्द्र समदर्शीले प्रभावकारी छोटा रचनाहरू सुनाएर सबैको मन जितिरहेका थिए।
सम्पूर्ण कार्यक्रमलाई वरिष्ठ कवि-अनुवादक खड्कराज गिरीले सुन्दर तरिकाले सञ्चालन गरेका थिए। उनैले धन्यवाद ज्ञापन पनि गरे। सम्पूर्ण कार्यक्रमको तारतम्य मिलाउनमा शब्द समयका कर्मठ सदस्य वरिष्ठ कवि-चिन्तक-अध्येता ज्ञानेन्द्र खतिवडा सधैँझैं यसपल्ट पनि व्यस्त देखिन्थे। यस प्रकरणमा वरिष्ठ कवि मोहन ठकुरी, वरिष्ठ साहित्यकार पेम्पा तामङ, वरिष्ठ साहित्यकार डी.एस. बम्जन, प्रसिद्ध चलचित्र अभिनेता टङ्क शर्मा, सर्जक शोभा छेत्री, कवि कविता अधिकारी आदिको विशेष उपस्थिति रहेको थियो।









