गान्तोक। उत्तर सिक्किमको नागामा रेल खोलाले बगाएको एकजना वृद्ध पर्यटक उदय कुमार सिंह (६३) को शव भेटिएको छैन। तिनी पटना निवासी थिए। लगभग ९ दिनसम्म चलेको खोज अभियान बन्द गरिएको छ। प्रतिकूल मौसमका कारण खोज अभियान बन्द गरिएको र मौसम अनुकूल बनेपछि पुन: खोज अभियान थालिने बताइएको छ। उक्त जानकारी मंगन पुलिस थानाका एसएचओ पीआई शेर बहादुर मंगरले फेसबुक पेजमा दिएका छन्।
उल्लेखनीय छ, गत ९ जूनको दिन फोटो खिच्ने क्रममा उदय कुमार सिंहलाई खोलाले बगाएको थियो। ६३ वर्षीय पर्यटक पटना निवासी थिए। वृद्ध सिंहलाई बचाउने प्रयासमा ट्याक्सी चालक कर्ण बहादुर तामाङलाई पनि खोलाले बगायो।४१ वर्षीय चालकको शव घटनास्थलदेखि केही तल खोलामा पाइएको थियो, तर पर्यटकको शव अझै पनि पाउन सकेको छैन।
यतिका दिनसम्म एनडीआरएफ, एसडीआरएफ, भारतीय सेना, आईटीबीपी, चुङथाङ अग्नि एवं आपातकाल सेवा र जिल्ला पुलिसको संयुक्त तत्वावधानमा लगातार खोज अभियान चलाइएको थियो। तर, पर्यटकको शव भेट्न सकिएन। एसएचओ मंगरले वर्तमानमा प्रतिकूल मौसमका कारण खोज अभियान बन्द गर्ने निर्णय लिएको र मौसम अनुकूल बनेपछि फेरि पर्यटकको खोज शुरू गरिने जानकारी गराएका छन्।
उनले यस खोज कार्यमा सहयोग पुऱ्याउने सम्पूर्ण व्यक्ति र संघ संस्थाप्रति आभार व्यक्त गरेका छन्। उनले घटनास्थल खोला छेउमा अस्थायी रोकथाम उपायको रूपमा बार लगाइएको पनि जानकारी दिएका छन्।










