वीरगन्ज: त्रिभुवन राजपथअन्तर्गत वीरगन्जको मुख्य सडक विस्तार र अतिक्रमित संरचना हटाउने अभियान आइतबारदेखि तीव्र पारिएको छ। गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई दायाँ–बायाँ २५/२५ मिटर कायम गर्ने गरी डोजर चलाउन थालिएपछि स्थानीय बासिन्दा र व्यवसायीहरू प्रभावित भएका छन्।
लामो समयदेखि विवादमा रहेको यो सडक खण्डमा सर्वोच्च अदालतको फैसलापछि विस्तारको बाटो खुलेको हो। सडक डिभिजन कार्यालय हेटौँडा र स्थानीय प्रशासनको सक्रियतामा डोजर, जेसीबी र एक्स्कभेटर प्रयोग गरी संरचना भत्काउने काम भइरहेको छ। वीरगन्ज महानगरपालिकाका अनुसार हालसम्म करिब १ हजार २ सय निजी घर तथा पसल र २९ वटा सरकारी भवनका संरचना भत्काइएका छन्।
मिश्रित प्रतिक्रिया: विकासको समर्थन, प्रक्रियामा असन्तुष्टि
सडक विस्तारलाई लिएर वीरगन्जमा मिश्रित प्रतिक्रिया देखिएको छ। स्थानीयले सहरको विकास र ट्राफिक जाम अन्त्यका लागि सडक चौडा पार्नु आवश्यक रहेको बताए पनि तयारीका लागि पर्याप्त समय नदिइएकोमा आक्रोश व्यक्त गरेका छन्।
आदर्श नगरकी नूतन सरावगीले विकासको समर्थन गर्दै भनिन्, “हामी विकास विरोधी होइनौँ, तर घरभित्र बिरामी, वृद्ध र शिशु भएको अवस्थामा रातारात डोजर चलाउनु पीडादायी छ। सामान सार्न कम्तीमा १०–१५ दिनको समय दिनुपर्थ्यो।” यस्तै, व्यवसायी समिमा खातुन र सुशील शर्माले लगानी डुबेको र सामान सस्तोमा बेच्नुपर्ने बाध्यता आएको भन्दै दुखेसो पोखेका छन्।
अर्कातिर, स्थानीय चन्दन यादव र चन्देशर चौरसियाले भने सडक विस्तारले दीर्घकालीन रूपमा वीरगन्जलाई सुन्दर र व्यवस्थित बनाउने भन्दै यस कदमको स्वागत गरेका छन्।
विद्युत् र खानेपानीको समस्या
संरचना भत्काउने क्रममा तारहरू काटिएपछि वीरगन्जका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको छ। चर्को गर्मीका बेला बिजुली नहुँदा खानेपानी, मोबाइल चार्जिङ र दैनिक कामकाजमा ठूलो सास्ती भएको छ। विद्युत् प्राधिकरणले वैशाख ८ गतेसम्म सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार शनिबार नै सूचना जारी गरेर संरचना हटाउन आग्रह गरिएको थियो । सडक विस्तारपछि वीरगन्जको स्वरूप बदलिने अपेक्षा गरिए पनि प्रभावित नागरिकको मुआब्जा, पुनर्स्थापना र रोजगारी गुमेका मजदुरहरूको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ।










