विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको लागि न्यूनतम रोजगार अधिनियमको लागि आवाज उठाउनेछु: अमर लामा
खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले आज बिहान तीनधारे महानदी समष्टिको सिविटार क्षेत्रबाट आफ्नो चुनाउ प्रचार शुरु गरेका छन्। उनले सिविटार १२ नम्बर डिभिजन हुँदै बाघमारा बस्ती अनि पुनः सिविटार भएर सिविटारको ५ नम्बर डिभिजनका विभिन्न गाउँहरु हुँदै शिवखोला भएर सिमरिङसम्म जनसम्पर्क अभियान गर्दै स्थानीय जनतालाई भेट्दै चुनाउ प्रचार गरेका थिए। यसावधि अमर लामाले सिविटारको बाघमारा बस्तीमा रहेको झ्याङ्तेर सामतेलिन छोईलिङ गुम्बामा पुगेर गुम्बाको दर्शन साथै पूजा अर्चना गरेका थिए। यसको साथै उनले सिविटारको मुन्शी गाउँमा रहेको साङ्गे टाँसी छोईलिङ गुम्बामा पनि पुगेर गुम्बाको दर्शन गर्नुको साथै पूजा अर्चना गरेका थिए। त्यसपछि उनले गिताङ्गे हुँदै शिवखोला पुगेका थिए जहाँ सिमरिङ क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरु र कार्यकर्ताहरुले अमर लामालाई स्वागत गरेर स्कटको साथै सिमरिङसम्म लगिएको थियो। लोवर सिमरिङमा स्थानीयहरुले उनलाई भव्य स्वागत गरेका थिए। यस अवसरमा लोवर सिमरिङमा उम्मेद्वार अमर लामाले आफ्नो सम्बोधन राख्दै आफुले जितेर विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको लागि न्यूनतम रोजगार अधिनियमको लागि आवाज उठाउने र श्रमिकहरुको लागि काम गर्ने वाचा गरेका छन्। उनले चियाबारी श्रमिकहरुको लागि स्पेसियल टेक लिएर काम गर्ने योजना रहेको र यसको लागि पहाडको तीनवटा विधानसभा सिटहरुमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वारहरुलाई लिएर पठाउने निवेदन गरेका छन्। उनले आँगनवाडी, भीबीडीसी, जीटीए कर्मचारीहरु लगायत अन्यहरुका लागि पनि बिशेष रुपमा काम गर्ने वाचा गरेका छन्।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा चुनाव प्रचार अभियानमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, पञ्चायत समिति सदस्य एवं महानदी पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति कुसाङ लामा, सचिव बसन्त राई, पञ्चायत समिति सदस्या अनिरा वाईबा लगायत पञ्चायत सदस्यहरु लगायत विभिन्न बुथ र शाखा स्तरीय कमिटीको पदाधिकारीहरु उपस्थित रहेका थिए।










