‘सदनमा चुप नबस्नू, सरकारको हर आरोपको कडा प्रतिवाद गर्नू’
कोलकाता: तृणमूल कांग्रेस (टीएमसी) अध्यक्ष ममता बनर्जीले आफ्ना समर्थक विधायकहरूलाई पश्चिम बंगाल विधानसभाभित्र मुख्यमन्त्री शुभेन्दु अधिकारीका हरेक राजनीतिक हमलाको तथ्य र तर्कसहित सशक्त जबाफ दिन निर्देशन दिएकी छन्।
बिहीबार साँझ कालीघाटस्थित आफ्नै निवासमा बसेको रणनीतिक बैठकमा अध्यक्ष बनर्जीले संख्याबल कम भए पनि विपक्षको भूमिका कमजोर हुन नहुने र सदनमा सरकारका हरेक आरोपको प्रभावकारी प्रतिवाद गरिनुपर्ने स्पष्ट सन्देश दिएकी हुन्।
बैठकको मुख्य एजेण्डा पार्टीको आगामी सङ्गठनात्मक रणनीति र विधानसभाभित्र विपक्षको भूमिका भए पनि चर्चाको ठूलो हिस्सा मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा विधानसभामा गरिएका आक्रामक राजनीतिक हमलामा केन्द्रित थियो। बुधबार सदनमा मुख्यमन्त्री अधिकारीले आफू र पार्टीका राष्ट्रिय महासचिव अभिषेक बनर्जीमाथि गरेको टिप्पणीको विरोधमा तृणमूलका विधायकहरूले अपेक्षाकृत आक्रामकता देखाउन नसकेको भन्दै ममताले असन्तुष्टि व्यक्त गरेकी थिइन्।
बैठकमा बनर्जीले भनिन्, “विपक्षको जिम्मेवारी केवल विरोधमा मात्र सीमित छैन, तथ्य, दस्तावेज र जनजीविकाका मुद्दाका आधारमा सरकारलाई घेर्नु पनि उत्तिकै आवश्यक छ।” उनले सबै विधायकहरूलाई सदनको कारबाहीका लागि राम्रो तयारी गर्न, सरकारका अभिव्यक्तिहरूको तत्काल र प्रभावकारी जबाफ दिन तथा जनतासँग जोडिएका मुद्दाहरूलाई अझ मजबुतका साथ उठाउन आह्वान गरिन्।
आगामी दिनमा विधानसभाभित्र विपक्षको रणनीतिलाई अझ धारिलो बनाउन यस्ता बैठकहरूलाई निरन्तरता दिइने बताइएको छ। उक्त बैठकमा शोभनदेव चट्टोपाध्याय, अलिफा अहमद, कुणाल घोष, अब्दुल रहिम बक्सी, पुलक राय र मोशारफ हुसेनलगायतका वरिष्ठ नेता तथा विधायकहरूको उपस्थिति रहेको थियो।










