खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुई टेकबीर बस्तीमा विगत वर्ष ४ अक्टोबर २०२५ मा आएको भल पैह्रोमा बिपेन्द्र राई, अन्जन तामाङ अनि उपासना भित्रीकोटीको घर क्षतिग्रस्त भएको थियो। सरकारी पक्षबाट पाउने राहत सामग्री अनि सहयोग राशि उनीहरूले प्राप्त गरिसकेका छन्। तर घर मुन्तिर र माथि अनि छेउछाउको पैह्रो प्रभावित क्षेत्रको अहिलेसम्म पनि कुनै विभागीय पक्षबाट कार्य नभएको गुनासो रहेको छ। पैह्रोले प्रभावित घर मुन्तिरको पैह्रो अति नै जोखिम पूर्ण अवस्थामा छ। कुनै पनि समय ज्यान मालको ठूलो हानी हुने प्रबल सम्भावना देखिएको छ। सम्बन्धित विभागमा धेरैपल्ट दस्तावेजहरू बुझाए तापनि कुनै पनि प्रकारको पैह्रो रोकथामको कार्य आजसम्म पनि गरिएको छैन भन्ने गुनासो रहेको छ। त्यसर्थ पैह्रो प्रभावित परिवार अनि गाउँ समाजबाट आज एउटा निर्णय लिइयो कि यस गाउँमा कुनै पनि विकासको काम हुन्छ भने यी पैह्रो प्रभावित क्षेत्रको हुनु पर्छ नत्र अन्य कुनै पनि प्रकारको विकासको कार्य यस गाउँमा गर्न दिइने छैन भनी स्थानीय गाउँ समाजको तर्फबाट प्रगति संघका पदाधिकारीहरुले बताएका छन्।





