लुम्सेमा राई भाषा शिक्षकहरुलाई लिएर कार्यशाला आयोजना गरिने

IMG-20250219-WA0253

गान्तोक: गान्तोक जिल्ला अन्तर्गत लुम्से-तादोङस्थित अखिल किराँत राई संघ सिक्किमको मुख्यालय राई खिममा राई भाषा शिक्षक-शिक्षिकाहरुका निम्ति आवसीय अभिमुखी एवं कार्यशाला आयोजनाबारे एक महत्वपूर्ण बैठक सम्पन्न भयो। अवकाशप्राप्त सहायक निर्देशक (भाषा) पी. एम. राईको अध्यक्षतामा सम्पन्न सभामा अखिल किराँत राई संघ, सिक्किम केन्द्रीय समितिका अध्यक्ष मोहन दुङमाली, मुल सचिव आरके वालिङ, प्रचार सचिव बिष्णु चामलिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। स्वागत सम्बोधनको क्रममा केबी राईले सभाको मूल उद्देश्यमाथि प्रकाश पारे। सभाको बिषय वस्तुमाथि व्यापक चर्चा परिचर्चा गरि विविध प्रस्तावहरू ग्रहण गरियो। राई भाषाको प्राथमिक र नव नियुक्त लगभग ८० जना शिक्षक-शिक्षिकाहरुलाई पाँच दिनको आवसीय अभिमुखी एवं कार्यशाला आगामी ६ अप्रेलदेखि १० अप्रैलसम्म आसामलिङ्गजे स्थित सिकोनको अडिटोरीयम हलमा गर्ने निश्चित गरियो। कार्यशालाको प्रशिक्षण सामाग्री तयारी, श्रोत वक्ताहरूको चयन अनि कार्यक्रमको लागत खर्च व्यवस्था गर्ने एउटा सञ्चालन समिति पनि गठन गरियो। जसमा आरके वालिङ, मोहन दुङमाली, केबी राई, अरूण कुमार राई, शोभा राई, मनी कुमार राई, जेके राई रहेका छन्। यस अतिरिक्त राई भाषा अतिरिक्त शिक्षक शिक्षिकाहरूकको मांग साथै प्रस्तुती विदाको समय भाषा शिक्षिकाहरूको रिक्त स्थान भरपाई गर्नु पर्ने विषयमा संस्थाले शिक्षा विभागका पदाधिकारीगणलाई पत्राचार गर्ने निर्णय लिएको छ। यसरी नै राई भाषाको पाठ्यपुस्तक स्नातक अर्थात महाविद्यालय तहसम्मका निम्ति तयार गर्न जरूरी भएको महसुस गरि पाठ्यपुस्तक लेखन समितिको औपचारिक गठन गरियो। जसको निम्ति सेवानिवृत सहायक निर्देशक पी० एम० राईको अध्यक्षतामा एटीबीओद्वय र भाषा स्नातक शिक्षक शिक्षिकाहरूको एउटा टोली गठन गरियो। राई भाषा विकास वोर्ड चाँड़ै गठन गर्नु पर्ने बिषयलाई ध्यानमा राख्दै केन्द्रीय समितिको आगामी सभामा यो पहल गरिने निर्णय लिएको छ। सभामा विगत केही दिन अघि पेशोक निवासी साम्सोङ तामाङले खस छेत्री बाहुनमाथि अपशब्द प्रयोग गरेकोमा संस्थालो आपत्ति र भर्त्सना जनाउँदै प्रस्ताव पारित गरियो। यसबारे संस्थाले पत्रकार सम्मेलन गर्ने पनि निर्णय लिएको छ। यसै गरि दक्षिण सिक्किम दोजक गाउँ निवासी स्व० राम कुमारी राईको सोचेग्याङ एसटीएनएम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर संस्थाको ब्लकस्तरदेखि नै जाँच-पड़तालको दवाब आइरहेको बिषयमा केन्द्रीय मुल सचिव आरके वालिङले सभालाई विस्तृतरूपमा जानकारी गराए। अकिरास संस्थाले सो राई परिवारमा सम्वेदना प्रकट गर्न जाने निश्चय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। सभामा आर. के. वालिङले १२ जातिलाई अनुसुचित जनजातिमा अन्तर्भुक्त गराउन राज्य सरकारले शुरू गरेको पहल अन्तर्गत गत १० फरवरी, २०२५ का दिन नयाँ दिल्लीमा आयोजन भएको उच्चस्तरीय समितिको सभामा भएको वहश र निष्कर्षबारे अवगत गराए। सभालाई केन्द्रीय अध्यक्ष मोहन दुङमालीले सम्बोधन गर्दै सभामा उठेका सबै बिषयहरूलाई संस्थाले यथासम्भव शिघ्र समेट्ने बताए। राई खिम भवनको लेनदेन आगामी २० फरवरीको दिन गरिनेछ र यस दिन केन्द्रीय समितिको सबै पदाधिकारीहरूले आफ्नो उपस्थिति दिनु पर्ने अनुरोध गरे। सभाध्यक्षको आसनबाट बोल्दै पी. एम. राईले भाषा शिक्षकहरूको यो महत्वपूर्ण कार्यशालामा आफूलाई पनि संलग्न गराउने तथा सहभागी बन्ने अवसर प्रदान गरेकोमा खुशी प्रकट गरे। उनले यस अभिमुखी कार्यक्रममा उपस्थिति दिने र भाषा सम्बन्धी आफ्नो अनुभव साझा गर्ने बिचार व्यक्त गरेका छन्।

About Author

Advertisement