जीटीए क्षेत्रको कालेबुङ अनि दार्जीलिङ्ग जिल्लामा जिल्ला परिषद स्थापनाको मांग

IMG-20250219-WA0230

खरसाङ: जीटीएसँग सम्बन्धित प्रशासनिक कार्यलाई लिएर विभिन्न विभागसँग बैठक गर्ने क्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज कोलकातामा जीटीए क्षेत्रको कालेबुङ अनि दार्जीलिङ जिल्लामा जिल्ला परिषद स्थापनाको मांग गरेको प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनी प्रशासनिक बैठकको लागि हालमा कोलकातामा छन्। त्यही शिलशिलामा उनले आज पञ्चायत अनि ग्रामीण विकास विभागका मन्त्री प्रदीप मजुम्दारसँग बैठक बसेका छन्। बैठकमा विभागका सचिव डा उलागानाथन, आईएएसको पनि उपस्थिति रहेको थियो।
यस विषयमा प्रेस विज्ञप्तिमा‌ अनित थापाले भने, भेटघाटमा मैले माननीय मन्त्रीलाई जीटीए क्षेत्रको दार्जीलिङ अनि कालेबुङ जिल्लामा जिल्ला परिषद गठन गर्ने मांग गरेको छु। आज जीटीए क्षेत्रमा दुई स्तरीय पञ्चायत छ।
मैले मन्त्री महोदयलाई एक ज्ञापन पत्र बुझाएको छु। पत्रमा मैले भनेको छु कि यी जिल्लाहरूमा जिल्ला परिषद्को अभावले जनताको लोकतान्त्रिक प्रतिनिधित्वमा ठूलो खाडल सिर्जना गरेको छ। यी जिल्लाहरूमा जिल्ला परिषद् स्थापना र कार्यान्वयन गर्न सरकारले तुरुन्तै कदम चाल्नु आवश्यक छ भन्दै निम्न कदम चाल्न आग्रह गरेको छु।’
उनले प्रेस विज्ञप्तिमा अघि भनेका‌ छन्, ‘दार्जिलिङ र कालेबुङ जिल्लाहरूमा जिल्ला परिषद् स्थापनाको घोषणा गर्ने सूचना जारी गर्नुहोस्। जिल्ला परिषद्को कामलाई सहयोग गर्न आवश्यक पूर्वाधार र कर्मचारीहरू राखिएको सुनिश्चित गर्नुहोस्। निर्णय प्रक्रियामा यी जिल्लाका जनताको प्रतिनिधि आवाज सुनिश्चित गर्न यथाशीघ्र जिल्ला परिषद्को चुनाव गराउनुहोस्।’


मन्त्रीसँगको बैठक सौहार्दपूर्ण अनि सकारात्मक रहेको पनि जीटीए प्रमुख अनित थापाले प्रेस विज्ञप्तिमा बताएका छन्।

About Author

Advertisement