पाकिम: सिक्किम सरकारको कृषि विभाग र उद्यान (हार्टिकल्चर) विभागको संयुक्त आयोजनामा शुक्रबार पाकिम जिल्लाको लिङताममा ‘वाइब्रन्ट भिलेज प्रोग्राम–२’ अन्तर्गत एकदिवसीय तालिम तथा कृषि सामग्री वितरण कार्यक्रम आयोजना गरिएको छ।
वाइब्रन्ट भिलेज क्षेत्रका किसानहरूलाई सरकारबाट उपलब्ध हुने सेवा, सुविधा र अनुदानबारे सचेत गराउँदै कृषि तथा बागवानी (उद्यान) मार्फत जीविकोपार्जनका अवसरहरू सुदृढ बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रोंग्लीका सामाजिक कार्यकर्ता केनी गुरुङ, युवा संयोजक सुरेश तामाङ, लिङताम पदमचेन ग्राम पञ्चायतका अध्यक्ष अरुण गुरुङ, पञ्चायत सदस्यहरू राप्देन भोटिया र छेङ्गा शेर्पा, पूर्व जिल्ला पञ्चायत सदस्य वाङ्दी भोटिया, रेगु ब्लकका कृषि विकास अधिकारी अशोक गुरुङ, उद्यान विकास अधिकारी कर्म पिन्त्सो लेप्चा, कृषि प्रविधि प्रबन्धक साइमन मङ्गर तथा क्षेत्र इन्चार्ज एम. बी. मुखियासहित पञ्चायत प्रतिनिधि, युवा, किसान र दुवै विभागका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा आयोजित तालिम सत्रमा किसानहरूलाई कृषि तथा उद्यान विभागका विभिन्न योजना, प्राविधिक सहयोग र वाइब्रन्ट भिलेज प्रोग्रामअन्तर्गत प्राप्त हुने सुविधाहरूबारे जानकारी गराइएको थियो। साथै किसान, पञ्चायत प्रतिनिधि र विभागीय अधिकारीहरूबीच स्थानीय कृषि आवश्यकता, समस्या र भावी प्राथमिकताका विषयमा छलफल भएको थियो।
कार्यक्रमका क्रममा कृषि उत्पादकत्व बढाउन र किसानको आयआर्जनमा सुधार ल्याउने लक्ष्यका साथ सहभागी कृषकहरूलाई आलु र राजमाको बीउ वितरण गरिएको छ। स्थानीय तहमा कृषि विकासलाई प्रवर्द्धन गर्न कृषि र उद्यान विभाग, पञ्चायती राज संस्था र युवावर्गबीच निरन्तर समन्वय हुनुपर्नेमा सो अवसरमा जोड दिइएको थियो।





