सिलगढी: उत्तर बंगालका गैर-सञ्चालित (बन्द) चिया बगानहरूलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने विषयमा श्रम विभागका मन्त्री अर्जुन सिंहको अध्यक्षतमा सिलगढीस्थित श्रमिक भवनमा एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री सिंहले चिया बगान व्यवस्थापनको लापरबाही, दीर्घकालीन उपेक्षा र गैरजिम्मेवारीपनलाई अब थप छुट नदिइने स्पष्ट पारे। उनले बन्द अवस्थामा रहेका प्रत्येक चिया बगानलाई पुनः सञ्चालनमा ल्याउनका लागि तत्काल ठोस र प्रभावकारी कदम चाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
मन्त्री सिंहले बगान पुनरुत्थानको प्रक्रियालाई दिगो र वित्तीय रूपमा सबल बनाउन चिया श्रमिक, स्थानीय सरोकारवाला, सरकार र वित्तीय संस्थाहरूबीच चरणबद्ध छलफल गरिने बताए। यस प्रयासबाट श्रमिकहरूको हित रक्षा हुनुका साथै बगान सञ्चालनका लागि भरपर्दो वातावरण तयार हुने विश्वास लिइएको छ।
दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका चिया बगानहरू विगतका सरकारको उदासीनताका कारण वर्षौंदेखि समस्याग्रस्त बन्दै आएका थिए।
बैठकपछि श्रमिक प्रतिनिधिहरूले मुख्यमन्त्री शुभेन्दु अधिकारी र श्रममन्त्री अर्जुन सिंहको यस निर्णयको स्वागत गर्दै खुसी व्यक्त गरेका छन्। सरकारको यस कदमले हजारौँ चिया श्रमिक तथा तिनका परिवारको रोजीरोटी र सम्मान पुनःस्थापना हुने आशा जगाएको छ।





