मुख्यमन्त्रीद्वारा इन्द्रजात्रा पर्वको शुभकामना व्यक्त

FB_IMG_1790352696442

​गान्ताेक: सिक्किमकाे राजधानी ग्याङटोकस्थित मानन् केन्द्रमा सिक्किम नेवार गुठी र नेवार समुदायको आयोजनामा भव्यताका साथ इन्द्रजात्रा पर्व सम्पन्न भएको छ। कार्यक्रममा मुख्यमन्त्रीले सहभागी भई सम्पूर्ण नेवार समुदाय तथा सिक्किमेली नागरिकहरूमा शुभकामना व्यक्त गरेका छन्।
​इन्द्रजात्रा केवल एक धार्मिक पर्व मात्र नभई नेवार समुदायको धनी संस्कृति, परम्परा र पहिचानको उत्सव भएको उल्लेख गर्दै उनले यस पर्वले दिने श्रद्धा, सम्मान र एकताको सन्देश बहुसांस्कृतिक सिक्किमका लागि झनै सान्दर्भिक रहेको बताए।

सिक्किमको इतिहास, विकास, प्रशासन, कृषि, व्यापार, जनसेवा, खेलकुद तथा कला-संस्कृतिको क्षेत्रमा नेवार समुदायको अतुलनीय योगदान रहेको मुख्यमन्त्रीले चर्चा गरे। ऐतिहासिक ‘टक्सारी’ परम्परादेखि लिएर उच्च प्रशासनिक सेवा, ओलम्पिक खेलकुद तथा सगरमाथा आरोहणसम्म नेवार समुदायले सिक्किमको नाम उच्च राखेको भन्दै उनले समुदायप्रति आभार प्रकट गरे।
​सो अवसरमा बोल्दै उनले बाँकी रहेका १२ जातीय समुदायलाई अनुसूचित जनजाति (एसटी) को सूचीमा समावेश गराउने दीर्घकालीन मागप्रति राज्य सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याए। यसबारे जातजातीय (इथ्नोग्राफिक) अध्ययन पूरा भई प्रतिवेदन अघि बढिसकेको र राज्य सरकार तथा विधानसभाले यसको समर्थन गरिसकेको जानकारी गराए। यो कुनै राजनीतिक दलको मुद्दा नभई सिक्किमेली जनताको साझा विषय भएकाले दलीय राजनीतिभन्दा माथि उठेर एकजुट भई अघि बढ्नुपर्नेमा उनले जोड दिए।

सिक्किमको मुख्य शक्ति नै ‘विविधतामा एकता’ भएको उल्लेख गर्दै मुख्यमन्त्रीले साम्प्रदायिक राजनीति, भ्रामक हल्ला वा विभाजनकारी शक्तिहरूलाई यो जग कमजोर पार्न दिन नहुने चेतावनी दिए। विभक्त समाज अघि बढ्न नसक्ने तर एकजुट सिक्किमलाई कसैले ढाल्न नसक्ने धारणा उनले व्यक्त गरे।
​कार्यक्रमको अन्त्यमा भगवान् इन्द्रको कृपा सिक्किम र सम्पूर्ण सिक्किमेली जनतामाझ रहिरहोस् भन्दै उनले नेवारी भाषामा ‘जोजोलोपा’ (नमस्ते) प्रकट गरी अभिवादन व्यक्त गरेका थिए।

About Author

Advertisement