गेजिङ: सिक्किमको गेजिङ जिल्लास्थित रिम्बीमा बिहीबार राति लेदोसहितको पहिरो बस्तीमा पसेपछि ठूलो क्षति पुगेको छ। गत २७ साउन (१३ अगस्ट) देखि नै निरन्तर झरिरहेको पहिरोको बहाव अचानक गाउँतर्फ सोझिँदा स्थानीय क्षेत्र सन्त्रासपूर्ण बनेको हो।
पहिरोका कारण हालसम्म मानवीय क्षति नभए पनि दुईवटा घर पूर्ण रूपमा बगाएको छ। प्रतिकूल मौसमका कारण राहत टोली गाउँसम्म पुग्न कठिनाइ भइरहेकाले सम्पत्ति तथा पशुधनमा भएको कुल क्षतिको यकिन विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।
घटनापछि प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न मन्त्री एवं स्थानीय विधायक छिरिङ टी. भोटिया, राजस्व तथा विपद् व्यवस्थापन विभागका सचिव एवं राहत आयुक्त रिन्जिङ छेवाङ भोटिया, गेजिङका प्रमुख जिल्ला अधिकारी तेन्जिङ डी. डेन्जोङ्पा र अतिरिक्त जिल्ला विकास अधिकारी सुरत गुरुङसहितको टोली शुक्रबार घट्नास्थल पुगेको छ। टोलीमा वन, विद्युत्, सशस्त्र सीमा बल (एसएसबी) को ७२औँ बटालियन तथा अन्य सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता थियो।
स्थलगत निरीक्षणका क्रममा टोलीले प्रभावित परिवार र स्थानीयसँग भेट गरी तत्काल आवश्यक राहत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। विपद् जोखिममा परेकाहरूका लागि सुरक्षित स्थानमा राहत शिविर स्थापना गरी आवश्यक व्यवस्थापन मिलाइएको राहत आयुक्त भोटियाले जानकारी दिए।

उनका अनुसार सरकारी मापदण्ड र प्रावधानअनुसार प्रभावित सबै परिवारलाई तत्काल राहत रकम र सामग्री हस्तान्तरण गरिनेछ।
यसैबीच मन्त्री भोटियाले घटनाबारे मुख्यमन्त्री तथा सिक्किम सरकारलाई गराइसकिएको र राज्य सरकारबाट पूर्ण सहयोगको आश्वासन प्राप्त भएको बताएका छन्। उनले वर्षा र पहिरोको जोखिम कायमै रहेकाले विशेष गरी रातिको समयमा अनावश्यक हिँडडुल नगर्न र सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन्।
प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सजग रहन सूचित गर्दै निरन्तर निगरानी गरिरहेको जनाएको छ।





