सोचकगाङस्थित एसटीएनएम अस्पतालमा अक्सिजन आपूर्तिको विषयलाई लिएर स्पष्टीकरण

FB_IMG_1790353350921

​सोचकगाङ: सोचकगाङस्थित एसटीएनएम अस्पतालले सञ्चारमाध्यम तथा सार्वजनिक क्षेत्रमा अक्सिजन आपूर्तिलाई लिएर आएका समाचारहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै वस्तुस्थिति स्पष्ट पारेको छ।
​अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिअनुसार गत ८ असोज (२४ सेप्टेम्बर) दिउँसोदेखि ९ असोजसम्म दुवै अक्सिजन प्लान्ट प्राविधिक समस्याका कारण बन्द हुँदा अक्सिजन उत्पादनमा अस्थायी रूपमा बाधा पुगेको थियो। सघन उपचार कक्ष (आईसीयू) र उच्च निर्भरता कक्ष (एचडीयू) मा शत-प्रतिशत बिरामी उपचाररत रहेको अवस्थामा प्लान्ट बिग्रिएपछि अस्पतालमा उपलब्ध अक्सिजन सिलिन्डर र निरन्तर आपूर्तिको सहयोगमा बिरामीको सेवा प्रवाह गरिएको थियो।
​५०० लिटर क्षमताको अक्सिजन प्लान्ट बिहीबार साँझ नै मर्मत गरी सञ्चालनमा ल्याइसकिएको अस्पतालले जनाएको छ। त्यसैगरी, १,००० लिटर क्षमताको अर्को प्लान्ट मर्मतका लागि आवश्यक पार्टपुर्जा आइपुग्न लागेकाले आजै साँझसम्ममा सो प्लान्ट पनि पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
​अस्थायी अवरोधका बाबजुद बिरामीको उपचारमा कुनै असर नपुगोस् भन्नका लागि अस्पतालले लगातार सिलिन्डर खरिद गरी मौज्दात चुस्त राखेको छ। १,००० लिटरको प्लान्ट सञ्चालनमा आएपछि अक्सिजनको सामान्य आपूर्ति सहज हुने जनाइएको छ।
​अस्पतालले बिरामीको निरन्तर हेरचाह र अक्सिजन आपूर्ति सुनिश्चित गर्न आवश्यक सबै कदम चालिसकिएकाले कुनै पनि भ्रम वा आतङ्कमा नपर्न सर्वसाधारणमा अपिल गरेको छ।

About Author

Advertisement