गान्तोक: सिक्किमको लाचुङ जिरो पोइन्टमा हालै चालक गुरुजीमाथि भारतीय सेनाका जवानहरूले गरेको आक्रमणको घटनाप्रति सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको राज्यस्तरीय चालक शाखा र सारथी कल्याण बोर्डले गम्भीर आपत्ति जनाउँदै कडा शब्दमा निन्दा गरेका छन्। सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा यस घटनाको भिडियो तथा विवरण व्यापक रूपमा प्रसारित भइरहेको छ।
राज्य यातायात विभागका सल्लाहकार मदन सिन्चुरी, सारथी कल्याण बोर्डका अध्यक्ष सोनाम अङ्गडुप भोटिया र एसकेएम चालक शाखाका अध्यक्ष कमल तामाङले आज एउटा संयुक्त प्रेस बयान जारी गर्दै उक्त निन्दनीय घटनाको विरोध गरेका हुन्। संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस्ता हिंसक घटनाहरूले आम जनताको मनमा भय र असुरक्षाको वातावरण पैदा गर्दछ। सिक्किमका चालकहरूलाई ‘सारथी’ अर्थात् सारथि भनिन्छ, जसको अर्थ सुख-दुःखको साथी हो र जसले हामीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने कार्य गर्दछन्। अर्कोतर्फ, भारतीय सेना आफ्नो उच्च अनुशासन र देशका लागि दिने त्यागका निम्ति सधैँ चिनिन्छ र उत्तिकै सम्मानित पनि छ।’
जारी संयुक्त प्रेस बयानमा राज्यको कानुन र व्यवस्था प्रणालीमाथि पूर्ण विश्वास व्यक्त गरिएको छ। साथै, सम्बन्धित नागरिक प्रशासन र सैन्य अधिकारीहरूलाई यस संवेदनशील विषयमा निष्पक्ष एवं तत्काल छानबिन गरी पीडितलाई चाँडोभन्दा चाँडो न्याय सुनिश्चित गर्न जोडदार माग गरिएको छ। यसैबीच, घटनाको गम्भीरतालाई ध्यानमा राख्दै राज्य चालक संयोजक दिछेन भोटिया आफैँ घटनास्थलमा पुगेर लाचुङका एसएचओ तिलक छेत्री र अन्य सम्बन्धित अधिकारीहरूसँग यसबारे विस्तृत समीक्षा तथा कानुनी प्रक्रियाबारे छलफल गरेको जानकारी प्राप्त भएको छ।











