सिलगढ़ीलाई दार्जीलिङ जिल्लाबाट नछुट्याईयोस् भन्दै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा दार्जीलिङका विधायक नोमन राईलाई बुझाए ज्ञापन पत्र

IMG-20260609-WA0092

दार्जीलिङ: मतिगढ़ा नक्सलबारी विधानसभा क्षेत्रका विधायक आनन्दमय बर्मनद्वारा उठाइएको दार्जीलिङबाट छुट्याएर सिलगढ़ीलाई अलग जिल्ला बनाउने माग पूरा भए दार्जीलिङले फेरि पनि अर्को नोक्सानी भोग्नु पर्ने कुरालाई आभाष गर्दै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले राज्यका मुख्यमन्त्री लगायत लोकसभा संसद राजु विष्ट, राज्यसभा सांसद हर्षवर्द्धन श्रृंखला, कालेबुङका विधायक भरत छेत्री अनि खरसाङका विधायक सोनाम लामालाई पत्राचार गरिसकेको छ। यसै क्रममा मंगलवार दार्जीलिङका विधायक नोमन राईलाई भेटेर सिलगढ़ीलाई दार्जीलिङ जिल्लाबाट छुट्याउनु नहुने भन्दै एउटा ज्ञापन पत्र सुम्पिएको छ। यसै गरी कालेबुङ अनि खरसाङका विधायकहरुलाई पनि समूहका प्रतिनिधिहरुले भेट गरेर पत्रको प्रतिलिपि चढ़ाई सकेको छ। समूहको पक्षबाट तराईका विभिन्न जातीय संघ संस्थाहरुलाई पनि पत्राचार अनि भेटघाट गरेर यस विषयमा पहल गरिनु पर्ने अनुरोध गरिसकेको छ। गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको तर्फबाट भनिएको छ, ‘विगतमा दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) गठन हुँदा, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन गठन हुँदा, सिलगढ़ी महकुमा परिषद गठन हुँदा अनि माल-मटेलीलाई छुट्याउँदा सिलगढ़ी लगायत डुवर्सबाट दार्जीलिङको भावानात्मक सम्बन्धमा दरार आएको इतिहास साक्षी छ। अब अझैं विगतका ती भूलहरु दोहोरिनु हुँदैन। त्यसको निम्ति हामीले नै पहल गर्नुपर्छ भन्ने सोंच राखेर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले पत्राचारहरु गर्ने काम गरिरहेको छ। तराई अनि डुवर्स गोर्खाल्याण्डको मानचित्रभित्र पर्ने भू-भाग रहेकोले विगतमा जसरी दार्जीलिङसँगको सम्बन्धमा विच्छेद ल्याउने कामहरु भयो‌ अझैं त्यस्तो काम गरिनु हुँदैन अनि त्यस्तो भए रोक लगाउन हामी अग्रसर बन्नुपर्छ भन्ने गोएसको सोंच रहेको छ। किनभने हाम्रो पुर्खाहरुले बसाएको अनि बनाएको तराई अनि डुवर्सले गोर्खाहरूको इतिहास बोकेको छ तर यो अहिले यो भू-भागबाट बिस्तारै गोर्खाहरुको इतिहास मेटिन्दै गई रहेको र वर्तमान र भविष्य सङ्कटमा पर्दै गएको पनि धेरैले आभाष गरि रहेको छ। यस्तोमा अझै सिलगढ़ी लाई दार्जीलिङ जिल्लाबाट अलग गरिए अर्को एउटा नोक्सानी दार्जीलिङ सँगसँगै गोर्खा जातिले भोग्नु पर्ने आभाष गरिएको छ। यसैले नयाँ सिलगढ़ी जिल्ला को अवधारणा बन्द होस् भन्न हेतु समूहले आफ्नो पक्षबाट पहल गरिरहेको छ।’

समूहको पक्षबाट पत्र दिँदै आज अभियन्ताहरु क्रमैले बिन्ध्या डुक्पा, अनिता लक्रान्द्री अनि जोकमान थापाले दार्जिलिङका विधायक नोमन राईसित भेट गरेका थिए।

About Author

Advertisement