पाकिम: पाकिम जिल्लाको लिङ्के पारखा जीपीयू अन्तर्गत लिङ्केमा मंगलबार बिहान मिनी म्याराथन आयोजना गरिएको छ। ‘नसा मुक्त सिक्किम’ अभियान अन्तर्गत आयोजित उक्त म्याराथनको उद्घाटन क्षेत्र विधायक एवं समाज कल्याण विभागकी सल्लाहकार पामिन लेप्चाले झण्डा हल्लाएर गर्नुभयो।
लिङ्के सरकारी माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो। ‘हामी सँगै दौडन्छौं, हामी सँगै उठ्छौं’ भन्ने मूल नाराका साथ सञ्चालित म्याराथनमा युवादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता रहेको थियो।
समाजमा बढ्दै गएको लागुऔषध दुरुपयोगको हानिकारक प्रभावबारे जनचेतना जगाउनु र विशेष गरी युवा पुस्तालाई स्वस्थ जीवनशैलीप्रति आकर्षित गर्नु यस पहलको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रमले लागुपदार्थमुक्त र सामाजिक रूपमा जिम्मेवार समाज निर्माणका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिएको छ।










