नाम्ची: सिक्किमको नाम्ची जिल्ला तहको लागुऔषध समन्वय तथा प्रवर्तन समिति (एनकोर्ड) को बैठक आज जिल्लापाल कार्यालयको सभाहलमा सम्पन्न भएको छ।जिल्लापाल अनूपा ताम्लिङको अध्यक्षतामा बसेको बैठकले यसअघि तय गरिएका कार्ययोजनाको प्रगति, लागुऔषध दुरुपयोग रोकथाम, कानुन कार्यान्वयन, जनचेतना र पुनर्स्थापनाका क्षेत्रमा भएका गतिविधिको विस्तृत समीक्षा गरेको छ।बैठकलाई सम्बोधन गर्दै जिल्लापाल ताम्लिङले बालबालिका तथा युवा वर्गलाई लागुऔषधको कुलतबाट जोगाउन अभिभावक, विद्यालय र समुदायको सहकार्य अनिवार्य रहेको बताइन्। “बालबालिका र किशोर-किशोरीहरू साथीभाइको लहलहैमा लागेर लागुऔषधको जोखिममा पर्न सक्छन्,” उनले भनिन्, “उनीहरूका लागि सुरक्षित र सकारात्मक वातावरण बनाउन प्रारम्भिक चेतना र समयमै सही मार्गदर्शन आवश्यक छ।”बैठकमा जिल्लाभित्रका संवेदनशील क्षेत्र, लागुऔषध कारोबारका सम्भावित केन्द्र र पछिल्ला नयाँ प्रवृत्तिबारे छलफल गर्दै अवैध गाँजा खेती रोक्न स्थलगत अनुगमन तीव्र बनाउने निर्णय गरिएको छ। यसका साथै प्रहरी, विशेष शाखा, लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) लगायतका निकायबिच सूचना आदानप्रदान र समन्वयलाई थप सुदृढ बनाउन निर्देशन दिइएको छ।त्यस्तै, स्वास्थ्य तथा परिवार कल्याण विभागलाई लागुऔषधमुक्ति तथा पुनर्स्थापना केन्द्रहरूको नियमित अनुगमन गर्न, परामर्श तथा उपचार सेवालाई प्रभावकारी बनाउन र बरामद गरिएका लागुऔषधलाई कानुनी प्रक्रिया पुर्याएर यथाशीघ्र नष्ट गर्न बैठकले निर्देशन दिएको छ।





