सिलगढी: गोप्य सूचनाको आधारमा गत साँझ आशिघर आउटपोस्ट अन्तर्गत कानकाटा मोडमा अभियान चलाएर स्पेशल अपरेसन ग्रुप (एसओजी) ले लाखौँ रुपियाँको ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो। पक्राउ परेका व्यक्ति मतिगढाको विश्वास कोलनी निवासी बिजय बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार मुर्शिदाबादबाट सिलगढी आउने एउटा बसमा एकजना व्यक्तिले ब्राउन सुगर लिएर आइरहेको गोप्य सुइँको पाएपछि एसओजीले आशिघर आउटपोस्ट पुलिसको साथमा कानकाटा मोड़मा उक्त बसलाई पर्खिरहे। यसपछि साँझको समयमा कानकाटा मोड़ बस आइपुगेपछि उक्त व्यक्तिलाई पक्रेर छानबीन गर्दा ब्यागबाट २५० ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित मूल्य ६० लाख रुपियाँ रहेको छ। पक्रा परेका बिजय बर्मनले मादक तस्करीमा डिलीभरी बोयको रूपमा काम गर्दथे।










