गान्तोक: केन्द्रीय एकीकृत कीट व्यवस्थापन केन्द्र (सीआईपीएमसी), गान्तोकले सरकारी जुनियर हाई स्कूल, रे मिन्दुसँगको सहकार्यमा ‘हर घर तिरङ्गा’ सप्ताह (७ देखि १५ अगस्ट २०२६) को तेस्रो चरण अन्तर्गत एक विशेष सामाजिक सचेतना कार्यक्रमको आयोजना गर्यो। यो कार्यक्रम राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित गरिएको थियो। भारत सरकारले ७ नोभेम्बर २०२५ देखि ७ नोभेम्बर २०२६ सम्म वर्षैभरि देशभर ‘वन्दे मातरम्’ को १५०औँ वर्षगाँठ मनाउँदैछ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले राष्ट्रिय गीत प्रस्तुत गर्नुका साथै परम्परागत लेप्चा नृत्य प्रस्तुत गरे। यसपछि विद्यार्थी र शिक्षकहरूका लागि हाजिरीजवाफ (क्विज) प्रतियोगिता आयोजना गरियो। कार्यक्रमको समापन विद्यालय परिसरमा नीमको बिरुवा रोपेर गरियो।
यस अवसरमा सीआईपीएमसीका उप-निर्देशक डा. ए. चक्रवर्ती, सहायक निर्देशक रोमन लेप्चा र विद्यालयका प्रधानाध्यापक प्रकाश शर्माले विद्यार्थीहरूसँग भारतको स्वतन्त्रता सङ्ग्राममा ‘वन्दे मातरम्’ को महत्त्व र यसलाई लोकप्रिय बनाउने सरकारी प्रयासहरूबारे छलफल गरे। साथै, सिक्किममा जैविक खेतीको महत्त्व र एकीकृत कीट व्यवस्थापन (आईपीएम) को ज्ञानबारे पनि विद्यार्थीहरूलाई जानकारी गराइयो।










