क्षेत्रीय सभासद नवराज छेत्रीसहित अन्यलाई सम्बर्ध्दना
खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ास्थित रेणुका कन्या उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह तीन दिवसीय रूपमा सम्पन्न भएको छ। सन् १९७२ सालमा स्थापित भएको रेणुका कन्या उच्च माध्यमिक विद्यालयको पचास वर्ष पुगेको अवसरमा गत १५ दिसम्बरदेखि शुरु भएको स्थापना दिवस आज १७ दिसम्बरको दिन समापन गरिएको छ। आजको समापन भएको दिन सम्पन्न कार्यक्रमको अध्यक्षता स्कूल प्रबन्धन समितिको सभापति योगेस विश्वकर्मले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख कार्यपाल अनित थापालाई राखिएको थियो। विशिष्ट अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समाज सेवी अरूणा रिजाल, पूर्व विधायक एंव संस्थापक सदस्य तुलसी भट्टराई, पूर्व प्रधान अध्यापिका मातृका गजमेर, रजनी नेचाली, देवकी प्रधान सुब्बा लगायत अन्यहरू उपस्थित रहेका थिए। शिक्षिकाद्वय अनुपमा दियाली देवान र सुजना रिजालद्वारा सञ्चालित कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समाजसेवी एंव श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्रीलाई सम्बर्ध्दना जनाइएको थियो। दुवैलाई खदार्पणसहित सम्बर्ध्दना पत्र, फूल गुच्छा र स्मृति चिन्ह प्रदान गरी शल ओढ़ाएर सम्मान जनाइएको थियो। कार्यक्रममा रेणुका कन्या उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्य तुलसी भट्टराई, वर्तमान सभापति योगेस विश्वकर्म, पूर्व प्रधान अध्यापिका मातृका गजमेर, पूर्व शिक्षिका प्रभारीहरू क्रमैले रजनी नेचाली, देवकी प्रधान सुब्बा, अशिक्षणकर्मी अनि सहयोग गर्ने सबैलाई सम्मान गरिएको थियो। शिक्षिका प्रभारी स्वप्न जिम्बाले स्वागत सम्भाषण राखेका कार्यक्रममा विद्यार्थी नानीहरूले गीत, नृत्य, नाटक, सामुहिक गीत, फेशन शो लगायत अन्यहरू प्रदर्शन गरेका थिए। फरवरी सन् १९७२ सालमा स्थापना भएको रेणुका कन्या विद्यालयले सन् १९८४ सालमा दशौं श्रेणीसम्मको लागि अपग्रेड गरिएको थियो। अतिथिहरूको बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा विद्यार्थीहरूले सरस्वती बन्दना प्रस्तुत गरेका थिए। पूर्व प्रधान अध्यापिका मातृका गजमेरद्वारा लिखित गीत अनि संगीतकार यादव गजमेरले संगीत भरेको रेणुका कन्या उच्च माध्यमिक विद्यालयको प्रार्थना नानीहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थी सरस्वती तामाङले गीत प्रस्तुत गरेका थिए भने जुम्बा नृत्य, हिन्दी नृत्य, अंग्रेजी सामुहिक नृत्य, कौड़ा नृत्य, सामुहिक नृत्य, हाँस्य नृत्य आदि प्रस्तुत गरिएको थियो। रेणुका कन्या उच्च माध्यमिक स्कूलको स्वर्ण जयन्ती विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रेणुका कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका प्रभारी स्वप्न जिम्बाले सन् १९७२ सालमा स्थापना भएको रेणुका कन्या उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह तीन दिवसीय रूपमा सम्पन्न भएको र यस अन्तर्गत १५ दिसम्बरदेखि शुरु भएर आज १७ दिसम्बरको दिन समापन गरिएको छ। विशेष गरी पहिलो दिन स्कूल निरीक्षक रोशनी सार्की प्रमुख अतिथिको रुपमा उपस्थित रहेको जानकारी गराएका छन्। उनले तीन दिवसीय स्वर्ण जयन्ती समारोह अन्तर्गत आज समापन भएको जानकारी गराउँदै हाम्रो स्कूलको भवनको जीर्णावस्था र हलको अभावले गर्दा आज हामीले मिठाईडाँड़ास्थित प्रगति संघ सार्वजनिक भवनमा समापनको कार्यक्रम गरिएको बताइन्। उनले आजको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख कार्यपाल अनित थापालाई सम्बर्ध्दना जनाइने भएको बताउँदै कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, तीनधारेको वरिष्ठ समाजसेवी बिनयकुमार छेत्रीलाई पनि सम्बर्ध्दना जनाइएको बताइन्।

उनले स्कूलको स्वर्ण जयन्ती समारोहको अवसरमा स्कूलको पूर्व प्रधान अध्यापिका मातृका गजमेर, शिक्षिका प्रभारी देवकी प्रधान सुब्बा, रजनी नेचाली लगायत अन्य अशिक्षणकर्मी अनि वर्तमान स्कूल प्रबन्धन समितिको सभापति योगेस विश्वकर्म आदिलाई पनि सम्मान गरिएको बताइन्। उनले बताए अनुसार स्कूलको स्वर्ण जयन्ती समारोहमा स्कूलको संस्थापक सदस्यहरूलाई पनि सम्मान गरिएको जानकारी गराइन् भने तीन दिवसीय समारोहमा विभिन्न क्षेत्रहरूबाट सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।










