ग्लास्गो: राष्ट्रमण्डल खेलहरू २०२६ शुरु भइसकेको छ अनि खेलहरूको बीचमा भारतको निम्ति खुशीको खबर आएको छ। भारतीय एथलेटिक्स टीमका मुख्य प्रशिक्षक राधाकृष्णन नायरले स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा लामो समयपछि आफ्नो सर्वश्रेष्ठ शारीरिक स्थितिमा रहेको दावी गरेका छन्। नायरले नीरज आत्मविश्वासको शिखरमा रहेको अनि उनीबाट असाधारण प्रदर्शनको आशा गर्न सकिने बताएका छन्। यसको साथमा उनले यसपाली भारतले बर्मिंघम २०२२ भन्दा अधिक पदक जित्ने पनि भरोसा व्यक्त गरे। नायरले एउटा साक्षात्कारमा भने, नीरज शारीरिक रूपले शत प्रतिशत फिट छन्। उनलाई लामो समयपछि यति असल स्थितिमा देखेको छु। उनी आत्मविश्वासी छन् अनि हामीलाई असाधारण प्रदर्शनको आशा रहेको छ। नीरजले कुन पदक जित्नेछन् भन्ने नबताए पनि नायरले उनी आफ्नो सर्वश्रेष्ठ दिन तयार रहेको दावी गरे। उल्लेखनीय छ, ओलम्पिकमा २ पल्टका पदक विजेता नीरजले २०१८ गोल्ड कोस्ट राष्ट्रमण्डल खेलहरूमा ८६.४७ मीटरको थ्रो गरी स्वर्ण पदक जितेका थिए। त्यसपछि ढाड़को चोटले गर्दा उनले २०२२ बर्मिंघम खेलहरूमा हिस्सा लिन सकेनन्। गत वर्ष सेप्टेम्बरमा विश्व च्याम्पियनशीपको ठीक अघि उनको कम्मरमा चोट लागेको थियो। त्यसपछि यस सीजनमा उनले केवल एउटा प्रतियोगिता (दोहा डायमण्ड लीग)-मा हिस्सा लिएका छन्, जहाँ उनी ८५.६९ मीटरको सर्वश्रेष्ठ थ्रो गरी चौथो स्थानमा रहेका थिए। यसपाली ग्लास्गोमा पनि नीरजको निम्ति काम सजिलो हुनेछैन। पाकिस्तानका वर्तमान राष्ट्रमण्डल र ओलम्पिक च्याम्पियन अरशद नदीम, ग्रेनाडाका विश्व च्याम्पियन एण्डरसन पीटर्स र श्रीलंकाका रुमेश थरंगा पथिरागेले उनलाई कड़ा चुनौती दिनेछन्। भारतका रोहित यादव पनि असल फर्ममा छन्। उनले गत महिना ८७.०५ मीटरको थ्रो गरेका थिए अनि त्यही प्रदर्शनलाई दोहोऱ्याउन सके उनी पदक जित्ने दौड़मा सामेल हुनेछन्। पुरुष ज्याभलिन थ्रो स्पर्धाको क्वालीफिकेशन ३० जुलाईमा र फाइनल ३१ जुलाईमा हुनेछ। नायरको भनाइअनुसार, ३२ सदस्यीय भारतीय एथलेटिक्स टीमले यसपाली बर्मिंघम २०२२-को ८ वटा पदक (एउटा स्वर्ण, ४ वटा रजत र ३ वटा काँस्य)-को तुलनामा असल प्रदर्शन गर्नेछ। उनले यसपाली भारतले २-३ वटा स्वर्ण पदक जित्न सक्ने सम्भावना व्यक्त गरे। प्रशिक्षकले बताएअनुसार, ज्याभलिन थ्रो बाहेक लंग जम्प, ट्रिपल जम्प, हाई जम्प, लामो दूरीको दौड़ र महिलाहरूकी ३००० मीटर स्टीपलचेजमा भारतसँग पदक जित्ने असल मौका रहनेछ।










