गान्ताेक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राष्ट्रिय राजमार्ग-१० को २० माइल क्षेत्रमा गएको भीषण पहिरोको स्थलगत निरीक्षण गरेका छन्। बार्दाङस्थित ‘प्रेरणा स्थल’बाट ग्याङटोक फर्किने क्रममा राज्यपाल माथुरले सडकको अवस्थाबारे जानकारी लिएका हुन्।
निरन्तरको मनसुनी वर्षाका कारण पहाडबाट ठुला-ठुला ढुङ्गा र लेदो खस्दा सिक्किमलाई जोड्ने यो मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक ठप्प भएपछि सवारी साधनको आवतजावत ठप्प बनेको छ।

निरीक्षणका क्रममा राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) का अधिकारीहरूले राज्यपाल माथुरलाई पहिरोको वर्तमान स्थिति र पन्छाउने क्रममा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी गराएका थिए। अधिकारीहरूका अनुसार राजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउन ठुलो परिमाणमा मेसिनरी र जनशक्ति परिचालन गरी पन्छाउने काम भइरहेको छ।
सिक्किमको ‘लाइफलाइन’का रूपमा रहेको यो राजमार्गलाई सुरक्षित रूपमा खुलाउन निर्देशन दिँदै राज्यपाल माथुरले यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर द्रुत गतिमा काम गर्न सम्बन्धित निकायलाई ताकेता गरेका छन्।










