गनन्ताेक: कारगिल विजय दिवसका अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले बार्दाङस्थित ‘सिक्किम प्रेरणा स्थल’ पुगेर कारगिल युद्धका वीर योद्धाहरू तथा देश रक्षाका क्रममा प्राण आहुति दिने भारतीय सेनाका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
आयोजित विशेष कार्यक्रममा राज्यपाल माथुरले सहिद स्मारकमा पुष्पचक्र (रेथ लेइङ) अर्पण गरी वीर जवानहरूको अदम्य साहस र बलिदानको स्मरण गरे।
समारोहमा ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल आशिष नेगी, भारतीय सेनाका उच्च अधिकारीहरू तथा जवानहरूको उपस्थिति रहेको थियो। सो अवसरमा देशको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि सैनिकहरूले देखाएको अद्भूत साहस र सर्वोच्च बलिदानको सम्मानमा मौन धारणसमेत गरिएको थियो।

श्रद्धाञ्जली कार्यक्रमपछि राज्यपाल माथुरले प्रेरणा स्थल परिसरमा भइरहेका विभिन्न विकास तथा निर्माण कार्यहरूको स्थलगत निरीक्षण गरे। निर्माण कार्यको प्रगतिबारे अधिकारीहरूसँग समीक्षा गर्दै उनले यस ऐतिहासिक स्मारकको गरिमा अनुरूप उच्च गुणस्तर कायम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए।
निरीक्षणका क्रममा राज्यपालले त्यहाँ तैनाथ भारतीय सेनाका जवानहरूको हौसला बढाउँदै उनीहरूलाई मिठाईसमेत वितरण गरेका थिए।










